भारतीय बाँधले सीमावर्ती नेपाली चिन्तित

Indian Badhरौतहट । दुईसाता अघि आएको बाढीेले सीमावर्ती भूमिमा भत्काएको बाँध भारतले मर्मत गर्न थालेपछि नेपालका डुबानपीडित चिन्तित बनेका छन् । रौतहटको सदरमुकमा गौरदेखि पूर्वदक्षिण सिमानानजिकै भारतको महासा गाउँमा रहेको बाँध भारतीय सुरक्षाकर्मीले केही दिन अघिदेखि पुनर्निर्माण गरिरहेका छन् । बाढीको बेला सो गाउँमा रहेको बाँधको पानी जान राखिएको निकास भारतीय पक्षले नखोल्दा रौतहटको सदरमुकाम गौरलगायत बाँध वरपरका गाउँ डुबानमा परेको थियो ।

भारतीय पक्षले पुनः निर्माण गरिरहेको बाँधमा अहिले पानीको निकास नराखेको भन्दै सदरमुकाम गौर तथा लक्ष्मीपुर बेलबिछवाका बासिन्दाले पुनः डुबानमा परिने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । भारतले नेपाली भूमि डुबानमा पर्ने गरी बाँध मर्मत गर्न लाग्दासमेत नेपाल सरकारका कुनै निकायले पीडितहरूको कुरा नसुनेको लक्ष्मीपुर बेलबिछवाका स्थानीय भगल पण्डितले बताए । बाँध भत्किएको स्थानमा भारतले पुल बनाइदिए पानीको निकास हुने र नेपाली भूमि डुबानमा नपर्ने उनकोे भनाइ छ ।

बाँध मर्मत गरिरहेको स्थलवरपर भारतीय सुरक्षाकर्मीले नेपालीहरूलाई आवतजावतमा नै रोक लगाएको छन भने सञ्चारकर्मीहरूलाई फोटो खिच्नसमेत रोक लगाएको थियो । रौतहटको लालबकैया नदीदेखि बागमती नदीसम्म भारतीय पक्षले सिमानानजिकै एकतर्फीरूप्मा बाँध निर्माण गरेपछि सदरमुकाम गौरलगायत आसपासका बस्तीहरू डुबानमा पर्दै आइरहेको छ ।

दुईसाता अघि आएको बाढीले भारतको बैरगनियादेखि उत्तर मसाहा गाउँनजिकै २० मिटरभन्दा बढी बाँध भत्काएपछि जिल्ला सदरमुकाम गौरलगायत नेपालका सीमावर्ती गाउँहरूमा पानीको वहाव घटेको थियो । भारतले एकतर्फी रूप्मा बनाएको बाँधका कारण वर्षातमा पानीको निकास नहँुदा नेपालका सीमावर्ती बस्तीहरू पुनः डुबानमा पर्ने र खेतीयोग्य जमिन डुबानमा पर्ने भन्दै दीर्घकालीन समस्याको समाधान खोज्न गौरवासीले नेपाल सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया