भरतपुर अस्पतालमा न्यूरोको उपचार सुरु

bharatpur-hospitalचितवन, १३ भदौ । यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रुपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबै खाले दुर्घटनाका घाइतेहरुले उपचार पाउने भएका छन् ।

भरतपुर अस्पतालमा सिटिस्क्यान जस्ता उपकरण नहुँदा र न्यूरो सर्जनको अभावमा यसअघि अस्पतालमा आउने दुर्घटनाका घाइतेलाई स्थानीय मेडिकल कलेजमा पठाउने गरिन्थ्यो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुद्र मरासेनिकाअनुसार हालै मात्र अस्पतालमा सिटिस्क्यानसहित आवश्यक उपकरण जडान गरिएको छ । विगत ६ वर्षदेखि न्यूरोमा अनुभव हासिल गरेका न्यूरो सर्जन डा. गुणराज पौडेलले काम थालेका छन् । अस्पतालमा १० जना अर्थोपेडिक सर्जन कार्यरत छन् ।

अस्पतालमा ६ वटा शल्यक्रिया गर्ने टेबलसहितको सेट छ । ट्रमा र चोटपटक सम्बन्धिका नेपालमा हुने उपचार अब भरतपुर अस्पतालमा गर्न सकिने मेडिकल सुपरिटेण्डेन्ट डा. मरासेनिले बताए ।

अस्पतालमा नियमित रुपमा न्यूरोका सातामा तीन दिन शल्यक्रिया समेत सुरु गरिएको उनले बताए । आइतबार, मंगलबार र बिहीबार नियमित शल्यक्रिया हुन्छ भने २४ औं घण्टा दुर्घटनाका घाइतेलाई आवश्यक शल्यक्रियासहितको उपचार गर्न सकिने उनले बताए ।

भरतपुर अस्पताललाई मदनभण्डारी ट्रमा सेन्टरको नामाकरण दिइएको भए पनि न्यून बजेट निकासा भएका कारण काम सुरु हुनसकेको थिएन ।

अस्पताल विकास समितिका अध्यक्ष राजकुमारराज भण्डारीले अस्पतालको आफ्नै प्रयासमा न्यूरो सर्जन नियुक्त गरी सिटिस्क्यानसहितका उपकरण जडान गर्न सफल भएपछि ट्रमा सेन्टरको रुपमा अस्पताल अघि बढेको बताए ।

उनले  जिल्ला र छिमेकी जिल्लामा हुने सबैखाले दुर्घटनाका घाइतेले अब सरकारी अस्पतालमा न्यून शुल्कमा उपचार पाउने छ भने । स्थानीय प्रशासनसँग समन्वय गरी जिल्लामा आउने घाइतेलाई उपचार गर्ने पहिलो थलोको रुपमा भरतपुर अस्पताललाई विकास गर्ने योजना रहेको पनि अध्यक्ष भण्डारीले बताए।

दुर्घटनाका घाइतेको उपचार निकै खर्चिलो हुने भए पनि सकेसम्म कम रकममा उपचार गर्ने प्रबन्ध अस्पतालले मिलाउने दाबी उनको छ । सवारी दुर्घटनामा परेका घाइतेको बढी टाउकोमा चोट लाग्ने गर्दछ । अस्पतालमा सरदर दैनिक दुई जना गम्भीर घाइते आउने गर्दछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार गत वर्षमा जिल्लामा गम्भीर घाइतेको संख्या ५७५ रहेको थियो । सामान्य घाइते निकै बढी हुनेगरेको भन्दै उनले छिमेकी जिल्लाबाट पनि जिल्लामा हुने भन्दा बढी घाइते उपचारका लागि यहाँ आउने गरेको बताए ।

कैयौ घाइतेको लामो समयको उपचारपछि मृत्यु समेत हुनेगर्दछ भने कतिपयलाई उपचार नै लामो समय गर्नुपर्ने हुन्छ । सरकारी अस्पताल परिसरमानै स्पाइनल इञ्जुरी केन्द्र रहेकाले पनि सबै खाले दुर्घटनाका घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल उपयुक्त हुने भरतपुर अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा. कृष्ण पौडेलले बताए ।

प्रतिक्रिया