महिला पत्रकारको दक्षता अभिबृद्धीमा विशेष ध्यान दिइन्छ : आचार्य

news-photoकाठमाडौं । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महिला पत्रकारको दक्षता अभिवृद्धि गर्न महासंघले विशेष कार्यक्रम सुरु गर्ने बताएका छन् । समाचार कक्षलाई समावेशी बनाउँदै नीतिनिर्माण तहमा महिला पत्रकारको पहुँच पु¥याउन महासंघले विशेष पहल गर्ने उनको भनाइ रहेको छ ।

‘महिला पत्रकारको हकहितका लागि महासंघले विशेष कार्यक्रम बनाउने तयारी गरेको छ’ सञ्चारिका समूहको २१औँ साधारणसभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष आचार्यले भने, ‘सञ्चारिका समूहले तयार पारेका पत्रकार महिलाको दक्षता अभिवृद्धिसम्बन्धी कार्यक्रम पनि महासंघले समन्वय गरेर अगाडि बढ्छ ।’

महासंघले समाचार कक्षलाई समावेशी बनाउन र सञ्चार क्षेत्रको नीति निर्माण तहमा समावेशी महिला सहभागिताको लागि महासंघले विशेष कार्यक्रम संचालन गर्ने उनको भनाइ थियो । महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले नेपाली पत्रकारितामा पत्रकार महिलाको संख्या बढ्दै गएको अवस्थामा उनीहरूको गुणात्मक अभिवृद्धि गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए । सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले पत्रकार महिला फरक भूमिकामा रहेकोले चुनौतीलाई सामना गर्दै आफूलाई स्थापित गर्न आवश्यक रहेको बताइन् ।

कार्यक्रममा ४ जना महिला पत्रकारलाई पुरस्कृत गरिएको थियो । सञ्चारिका समूहले हरेक वर्ष प्रदान गर्दै आएको १५ हजार राशिको सञ्चारिका समानता पुरस्कार २०७३ ‘हर सेकेन्ड मनसुन’ शीर्षकको फिचरका लागि नेपाली टाइम्स साप्ताहिककी पत्रकार सिर्जना श्रेष्ठलाई प्रदान गरिएको छ । स्व.उमा सिंह पत्रकारिता पुरस्कार तराईमा बसेर पत्रकारितामा क्रियाशील बाराको रेडियो संस्कारमा कार्यरत पत्रकार रेणु चौधरीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि ७ हजार १ सय ११ रुपैयाँ छ ।

त्यसैगरी सञ्चारिका समानता पुरस्कारबाट बिबिसी नेपाली सेवामा कार्यरत दोलखाकी पत्रकार निराशी थामी र बाह्रखरी अनलाइनमा कार्यरत पत्रकार रुमु न्यौपाने पुरस्कृत भएका छन् । प्रभावकारी पत्रकारिताका लागि प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिएको सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले बताइन् । कार्यक्रममा महासंघका अध्यक्ष आचार्य, महासंघमा निर्वाचित महिला सदस्य, गोरखापत्र संस्थानको निमित्त महाप्रवन्धक नियुक्त भएकी सञ्चारिका समूहकी सल्लाहकार हरिकला अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया