मिर्गौला रोगीलाई दश लाख सहयोग

money-countरत्ननगर, १२ भदौ । दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक संकलन अभियान शुरु गरिएको छ । यहाँको सिर्जनशील थारु समाजले शुरु गरेको अभियानका क्रममा करिब रु १० लाख सहयोग संकलन भएको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका चितवनको खैरहनी नगरपालिका-१ बहेराका हरेरामको चार महिना अघि दुवै मिर्गौला काम नलाग्ने भएपछि घर फर्किएका थिए ।

पैँतीस वर्षीय हरेरामको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । उनको मिर्गौलाको डायलासिस भने नेशनल डायलासिस सेन्टर वसुन्धरामा चलिरहेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ का मित्रमणि कँडेल र नवलपरासी गैँडाकोट नगरपालिका– ५ गणेश मन्दिर बस्ने देवेन्द्र पुन मगरले पोर्चुगलमा आर्थिक संकलन गरी शनिबार मात्रै रु दुई लाख सहयोग पठाएको कारीले जानकारी दिए ।

पोर्चुगलमा रहेका विभिन्न व्यक्ति र समूहबाट संकलन गरेर पठाएको रु दुई लाख खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी र मित्रमणिका बुबा डम्बरप्रसाद कँडेलले पीडितकी आमा शनिचरी महतोलाई हस्तान्तरण गरिएको थियो ।

आर्थिक सहयोग संकलन हुनेक्रम अझै जारी रहेको र अहिलेसम्म रु १० लाख जति संकलन भएको जनाइएको छ ।

दक्षिण कोरियाबाट रु ८० हजार, अष्ट्रेलियाबाट दुईपटक गरी रु ७५ हजार, अमेरिकाबाट रु एक लाख ३५ हजार, क्यानडाबाट रु ४० हजार तथा साउदी, दुबई, कतार र मलेसयाबाट समेत सहयोग आएको अभियान्ता कारी महतोले बताए ।

प्रतिक्रिया