२ नं प्रदेशको चुनावी अन्तिम तयारीमा

2 number state copyकाठमाडौं । स्थानीय तहअन्तर्गत तेस्रो चरणको निर्वाचनबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चुनिने भएका छन् । यो प्रदेशमा १ सय ३६ स्थानीय तह रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । उक्त प्रदेशको निर्वाचनका लागि आवश्यक तयारी अन्तिममा पुगेको आयोगले बताएको छ ।

सबै तहका लागि निर्वाचन अधिकृत नियुक्त गरी तालिमसमेत लिइसकेको छ भने सोमबार कार्यालय स्थापना गरी काम अघि बढाइने भएको छ । मतदात अधिकृत र अन्य कर्मचारी भने कार्यालय स्थापना भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले नियुक्त गर्ने आयोगले बताएको छ ।

निर्वाचनका लागि आवश्यक मतपत्रसहित अन्य सामग्री सबै जिल्लामा पुगिसकेको छ । कार्यालय स्थापना भएपछि जिल्लामा रहेको सामग्री स्थानीय तहमा लगिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । २ असोजमा २ प्रदेश नं. २ का ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तहमा निर्वाचन हुन गइरहेको छ । यो नम्बर प्रदेशमा २६ लाख ६५ हजार ७ सय ९२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

सरकारले ८ जेठमा गरेको निर्णयले त्यसअघि १ सय २७ तह रहेकोमा १० तह थप तथा वेलावा गाउँपालिकालाई वीरगञ्ज महानगरपालिकामा गाभेर १ सय ३६ पु¥याएको छ । जसअनुसार सप्तरीमा वलान–बिहुल गाउँपालिका, धनुषामा धनौजी गाउँपालिका, सर्लाहीमा पर्सा गाउँपालिका, कौडेना गाउँपालिका, बसबरिया गाउँपालिका, बारामा विश्रामपुर गाउँपालिका, पर्सामा जिरा भवानी गाउँपालिका र कालिकामाई गाउँपालिका थप भएको आयोगले जानकारी दिएको छ ।

१ सय २७ स्थानीय तह हुँदा ७८ गाउँपालिका, ४५ नगरपालिका तथा ४ उपमहानगरपालिका रहेकोमा थप र स्तरोन्नति भएपछि १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका कायम भएका छन् । राष्ट्रिय जनता पार्टी संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने जनाउँदै आएपछि २ नम्बर प्रदेशमा पटकपटक चुनाव सारिएको थियो । तर, यतिबेला राजपासहित कांग्रेस, एमाले, माओवादी, राजपालगायत दल आफ्ना उम्मेदवार छनोटमा व्यस्त देखिएको आयोगले बताएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ९५ दल दर्ता

यसैगरी, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि ९५ दल दर्ता भएका छन् । आयोगका अनुसार आइतबार साँझ ६ बजेसम्म ९५ दलले दल दर्ता गराएका हुन् । एमाले र माओवादी केन्द्रलगायत ६४ दलले शुक्रबारसम्म नै आयोगमा दर्ता गराएका थिए ।

आइतबार संसद्मा प्रतिनिधित्व गर्ने कांग्रेस, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक), बहुजन शक्ति पार्टी नेपाललगायत ३१ दल थपिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

आगामी १० मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले इच्छुक दलहरूलाई केन्द्र र जिल्लास्तरमा दर्ता गर्न सूचित गरेको थियो ।  आयोगमा करिब १ सय २० दल आधिकारिक रूपमा दर्ता छन् । जसमध्ये स्थानीय तह निर्वाचनमा ८३ दल दर्ता भएका थिए । जसमध्ये १४ दलका मात्रै उम्मेदवार विजयी भएका थिए ।

आयोगले मतपत्रमा कति दलको चिह्न राख्ने भन्ने निर्णका लागि पनि केन्द्र र जिल्लामा दल दर्ताका लागि आह्वान गरेको प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया