बाढीपीडितलाई पठाउने भनिएको खाद्यान्नमा गोबर !

khaddya 1काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले नेपाल खाद्य संस्थानको गोदाममा मौज्दात रहेको चामललगायत खाद्यवस्तुमा गोबर, ढुंगा र माटो फेला पारेको छ ।  संस्थानले उक्त खाद्यवस्तु बाढीपीडितलाई पठाउनका लागि तयारीमा राखेको बताइएको छ । उक्त खाद्यवस्तु सिमीमा एक किलोसम्मका ढुंगा, गोबर, माटो र बालुवा मिसाइएको छ ।

आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले खाद्य संस्थानको माइतीघरमा रहेको गोदाममा अनुगमन गर्दा यस्तो भेटिएको मन्त्रालयले जानकारी दिएको छ । बाढीपीडितलाई राहतस्वरूप पठाउन लागिएको उक्त सिमी गुणस्तरहीन भएको भेटिएको छ । त्यही सिमीमध्ये ४० किलो बाढीपीडितलाई पठाइसकिएको छ ।
बाढीपीडितलाई थप पठाउन लागिएको खाद्यवस्तुमा अखाद्य पदार्थ रहेको सूचनाको आधारमा मन्त्रालयले अनुगमन गर्दा फापर, उवा र चामलमासमेत प्रशस्तै कैफियत देखिएको मन्त्रालयले बताएको छ ।

संस्थानले राहतका लागि मौज्दातमा राखेको ७ सय २० क्विन्टल सिमी परीक्षण गर्दा उक्त सिमी प्याक गरेको बोरामा ढुंगा, माटो, बालुवा, गोबर, चाउचाउका टुक्रालगायत भेटिएको थियो । त्यस्तै, संस्थानले मौज्दातमा राखेको फापर पनि सडेको भेटिएको थियो । संस्थानको सदर गोदाममा ७ सय २२ किलो फापर मौज्दातमा छ । ती फापर राहतस्वरूप संस्थानले विभिन्न क्षेत्रमा पठाउने गरिएको छ ।

संस्थानमा २ वर्षभन्दा पुरानो चामलसमेत भण्डारण गरेर राखिएको छ । ०७२ सालको भूकम्पका समयमा बंगलादेश सरकारले दिएको १० हजार क्विन्टल चामल अझै पनि संस्थानको गोदाममा थन्किनुका साथै फापर र सिमी पनि संस्थानले २ वर्षअघि नै खरिद गरेको संस्थानले बताएको छ ।
संस्थानको उक्त सदर गोदाममा झन्डै ४१ हजार क्विन्टल खाद्यवस्तु सञ्चय छ । संस्थानले मौज्दातमा रहेका ती खाद्यवस्तु सुपथ मूल्य पसल, कर्णालीलगायत जिल्ला र खाद्य संकट परेका बेला आवश्यकीय ठाउँमा पठाउने तयारी गरेको थियो ।
आफू केही समयअघि मात्र नियुक्त भएको र कैफियत देखिनुमा अघिल्ला कार्यकालका पदाधिकारी जिम्मेवार रहेको गोदामका प्रमुख भेषनाथ न्यौपानेले बताए ।  ‘सिमी, फापर र उवाको खरिदको कागजात अझैसम्म पनि आफूले फेला पार्न नसकेको बताउँदै प्रमुख न्यौपानेले भने, ‘सम्बन्धित पदाधिकारी र ठेकेदार मिलेर गुणस्तरहीन खाद्यवस्तु खरिद गरेको हुनुपर्छ ।’ यससम्बन्धमा विस्तृत छानबिन गरिने उनले बताए ।

गुणस्तरहीन सिमी र फापर खरिद गर्दा खाद्य संस्थानको महाप्रबन्धकमा शिवहरि श्रेष्ठ र प्रमुखमा मोहनप्रकाश चन्द थिए । तर, यी दुवै जनाले केही अवकाश पाइसकेको उनले बताए ।

प्रतिक्रिया