पर्सामा चुनावी चहलपहल बढ्यो

वीरेन्द्र कर्ण
वीरगञ्ज, ११ भदौ । नेपालको संविधानमा रहेका केही अन्तरवस्तुप्रति बिमति जनाउँदै आन्दोलनरत राष्ट्रिय जनता पार्टी राजपा पनि प्रदेश नं २ को तेस्रोचरणको स्थानीयतहको निर्वाचनमा भाग लिने भएपछि यस क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ ।Local-Election

राजपा पनि चुनावमा जाने भएपछि यस प्रदेशमा स्थानीयतहको चुवान हुन्छ कि हुँदैन भन्ने दोधारमा रहेका मतदाता तथा विभिन्न दलका स्थानीय नेताले आ-आफ्ना चुनावी अभियानलाई तीव्रता दिँदै मतदाताको घरदैलोसम्म पुग्न थालेका छन् ।

उक्त प्रदेशकोे आर्थिक नगरी वीरगञ्जमा पनि प्रमुख राजनीतिक दलले उम्मेवारको नाम सार्वजनिक गर्न थालेका छन् ।

संविधानसँग जोडेर भएको आन्दोलन, त्यससँगै भएको नाकाबन्दी, बाढी र डुबानको चपेटा खेपिरहेका पर्सा जिल्लाका मतदातालाई आफ्नो पक्षमा पार्ने रणनीतिसहित दलका प्रतिनिधि अहिले नगरदेखि गाउँसम्म मतदातालाई रिझाउन पुग्ने गरेका छन् ।

सत्ता साझेदारी दल नेपाली काँग्रेसले वीरगञ्ज महानगरपालिकाको प्रमुख पदको उम्मेदवारको नाउँ हालसम्म सार्वजनिक नगरे पनि अजय द्विवेदीको नाम भने चर्चामा छ ।

सो दलले अहिलेसम्म महानगरपालिका , नगरपालिका, गाउँपालिका तथा वडा उम्मेदवारको नाम सार्वजनिक नगरेपनि अन्य दलले भने उम्मेदवारको नाम भने सार्वजनिक गर्दैआएका छन् ।

चुनावी मैदानमा आएको राजपाले पनि अहिलेसम्म सो महानगरपालिकामा उम्मेदवारको नाम तोक्न सकेको छैन् ।

पहिलो र दोस्रोचरणको चुनावमा भाग नलिएको सो दलले तेस्रोचरणको स्थानीय तहको चुनावमा भाग लिने भएपछि वीरगञ्ज महानगरपालिकाको प्रमुख पदको उम्मेदवारीका लागि विमल श्रीवास्तव र राजेशमान सिंह समर्थकबीच विवाद हुँदा पार्टीले कसलाई प्रमुखको उम्मेदवार बनाउने भन्नेबारेमा अहिलेसम्म निर्णय गर्न सकेको छैन ।

अहिलेसम्म घोषित वीरगञ्ज महानगरपालिकाका प्रमुख पदका उम्मेदवारमा नेकपा ९एमाले०का बसुरुद्दिन अन्सारी र उपप्रमुखमा सोफिया आचार्य तथा प्रमुख पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका रहवर अन्सारी र संघीय समाजवादी फोरम नेपालका विजय सरावर्गी मतदाता सामु पुगिसकेका छन् ।

ती उम्मेदवारले विकासलाई प्रमुख प्राथमिकतामा राखेर चुनाव प्रचारप्रसारलाई अगाडि बढाएका छन् । यसैबीच प्रदेश नम्बर–२ अन्तर्गत पर्सा जिल्लामा तीन हजार ७४७ महिला र पाँच हजार ७४६ पुरुषसहित नौ हजार ४९३ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पर्सामा साउन १ गतेदेखि भदौ १ गतेसम्म पहिलोचरण अन्तर्गत जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा भएको नामावली संकलन कार्यमा तीन हजार ६८१ जनाले मतदाताको लागि निवेदन दिएका थिए भने साउन १६ गतेदेखि भदौ १ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र गाउँपालिकामा खटिएको टोलीमा मतदाता नामावली संकलन कार्यमा चार हजार ८३० जनाले आवेदन दिएको कार्यालयले जनाएको छ ।

यसैगरी मतदाता नामावलीमा त्रुटी सच्याउन १६ जना र ठेगान सार्न ५२ जनाले आवेदन दिएका थिए । नयाँ मतदाताले भने आउँदो असोज २ गते हुने स्थानीय तहको तेस्रोचरणको निर्वाचनमा भाग लिन नपाउने भए पनि अब हुने प्रदेश र संसदीय निर्वाचनमा भने मतदान गर्न र उम्मेदवारी दिन पाउने निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए ।

पर्सामा वीरगन्ज महानगरपालिका, पोखरीया, महुदरमाई गरी ती नगरपालिका तथा १० वटा गाउँपालिका छ । जिल्लामा दुई लाख ८० हजार १११ मतदाताका लागि १६३ मतदानस्थलका साथै ३४२ मतदान केन्द्र तोकिएको छ ।

असोज २ गते हुने प्रदेश नम्बर–२ को तेस्रोचरणको स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न राजनीतिक दलले आ–आफ्नो पार्टीको गतिविधिलाई तीव्रता दिएका छन् ।

सो निर्वाचनका लागि पर्सा जिल्ला अदालतका मुख्य न्यायधीश विष्णु सुवेदीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । रासस

प्रतिक्रिया