निर्वाचन आयोगको निर्णय प्रेस स्वतन्त्रताविरोधी हो

borna karki
–बोर्ण बहादुर कार्की

हालै निर्वाचन आयोगले आफ्नो विषयमा गलत समाचार प्रकाशित गरेको भनी देशान्तर साप्ताहिकका प्रधान सम्पादकलाई तीन दिनभित्र उपस्थित गराउन प्रेस काउन्सिलले पत्राचार गरेको छ ।  यो विषय सञ्चार जगतमा निकै विरोधको विषय बनेको छ । यस सम्बन्धमा तपाईंको धारणा के छ ?
सञ्चार माध्यममा सम्प्रेषण हुने समाचार सामाग्रीका विषयमा निर्वाचन आयोग आफंैले कारबाही गर्न मिल्दैन । निर्वाचन आयोगको यो निर्णयबाट प्रेस स्वतन्त्रताको प्रत्यक्ष उल्लंघन भएको छ । देशान्तर साप्ताहिकमा प्रकाशित समाचार गलत र मिथ्यापूर्ण भएको भए निर्वाचन आयोगले खण्डन प्रकाशित गर्नुपर्ने थियो । निर्वाचन आयोग सार्वजनिक संवैधानिक संस्था हो । संस्थाको विषयमा उठेको प्रश्नहरूको जवाफ आयोगले धैर्यतापूर्वक दिनु पर्दछ, आक्रोशित भएर आफंै कारबाही गर्न अग्रसर हुने निर्वाचन आयोगको कार्यलाई जिम्मेवार र उत्तरदायी भन्न सकिँदैन । निर्वाचन आयोगको यो निर्णय प्रेस स्वतन्त्रताविरोधी हो ।

सञ्चारमाध्यमले निर्वाचन आयोग जस्तो महत्वपूर्ण र संवेदनशील निकायको विषयमा झुट्टा र बनावटी समाचार सम्प्रेषण गर्न मिल्छ ?
झुट्टा र बनावटी समाचार सम्पे्रषण गर्नु पत्रकारिताको मूल्य मान्यताविपरीत कुरा हो । संवैधानिक अंगविरुद्ध मात्र होइन, सामान्य नागरिकविरुद्ध पनि सञ्चार माध्यमले झुट्टा समाचार प्रकाशित गर्नु हुँदैन । राष्ट्रिय महत्वको निर्वाचनको कार्य गरिरहेको निर्वाचन आयोगका विषयमा देशान्तर साप्ताहिकमा प्रकाशित समाचार मिथ्यापूर्ण हो÷होइन, त्यसको परीक्षण भएको छैन । यसको परीक्षण सम्बन्धित निकायबाट हुनु आवश्यक छ । मिथ्यापूर्ण समाचार भए कारबाही पनि गरिनुपर्दछ ।

प्रकाशित समाचार झुट्टा भनेर नै निर्वाचन आयोगले कारबाही सुरुवात गरेको हो ? यस्तो कारबाहीको विरोध गर्नु कत्तिको उपयुक्त हुन्छ ?
राज्यका संवैधानिक अंग र विभिन्न निकायलाई संविधान र कानुनले अधिकार र कर्तव्य तोकिदिएको छ । संविधान र कानुनले तोकिदिएको अधिकार क्षेत्र नाघ्नु अधिकारको दुरूपयोग हुन्छ । लोकतान्त्रिक व्यवस्थाको मूल मर्म अख्तिायारको दुरूपयोग हुन नदिनु हो । देशान्तर साप्ताहिकमा प्रकाशित समाचार मिथ्यापूर्ण भए निर्वाचन आयोगले उजुरी गर्न सक्दछ तर, आफंै सञ्चारमाध्यमलाई कारबाही गर्न सक्दैन । अहिले भई रहेको विरोध देशान्तर साप्ताहिकमा प्रकाशित समचारको समर्थनमा होइन, निर्वाचन आयोगले अधिकार क्षेत्र नाघी सञ्चारमाध्यमलाई आफंैले कारबाही गरेकोमा विरोध भएको हो ।

निर्वाचनको सन्दर्भमा सञ्चारमाध्यमले पालना गर्नु पर्ने आचारसंहिता निर्वाचन आयोगले बनाएको छ, त्यस्तो आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यमलाई आयोगले कारबाही गर्नमा बन्देज हुन्छ र ?
सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता बनाउने अधिकार प्रेस काउन्सिलबाहेक अरू कुनै निकायलाई छैन । निर्वाचन आयोगले बनाएको त्यो आचारसंहिता कानुनविपरीत कुरा हो । निर्वाचन आयोगले नत सञ्चारमाध्यमको लागि आचारसंहिता बनाउन सक्दछ, न त सञ्चारमाध्यमलाई कारबाही नै गर्न सक्दछ । निर्वाचनको सम्बन्धमा सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिता आफंै बनाउने, त्यस्तो आचारसंहिता पालना आफंै गराउने गलत अभ्यास निर्वाचन आयोगबाट हुँदै आएको छ । मेरो कार्यकालमा निर्वाचन आयोगको जस्तो गलत कार्यको प्रेस काउन्सिलले विरोध र भत्र्सना गरेको थियो । यसपालिको निर्वाचनमा सञ्चार माध्यमको नियमन, अनुगमन गर्ने जिम्मा निर्वाचन आयोगले प्रेस काउन्सिललाई दिएको छ । निर्वाचन आयोग आफंैले सञ्चारमाध्यमलाई कारबाही गर्ने, नियन्त्रण गर्ने कुरा आपत्तिजनक कुरा हो ।

सञ्चार माध्यमले जस्तोसुकै भ्रमपूर्ण समाचार गरे पनि कारबाही हुँदैन ? कसले कारबाही गर्ने ?
सञ्चार माध्यमले झुट्टा समाचार सम्प्रेषण गरेमा कारबाही गर्ने प्रभावकारी निकाय प्रेस काउन्सिल नेपाल हो । झुट्टा समाचार सञ्चार माध्यमले सम्प्रेषण गर्नु प्रेस काउन्सिलद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको ठाडो उल्लंघन गर्नु हो । गलत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमहरूलाई प्रेस काउन्सिलले कारबाही गर्दै आएको छ । निर्वाचन आयोग आफंैले कारबाही गर्न अग्रसर हुनुभन्दा कारबाहीको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको भए उपुयुक्त हुन्थ्यो । पत्रिकाका सम्पादकलाई तीन दिनभित्र उपस्थित गराउनु भन्ने निर्वाचन आयोगले प्रेस काउन्सिललाई दिएको निर्देशन झन् आपत्तिजनक हो । प्रेस काउन्सिल निर्वाचन आयोग अन्तर्गतको संस्था होइन, प्रेस काउन्सिल स्वतन्त्र र स्वायत्त संस्था हो ।

गलत सामाग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले अहिलेसम्म प्रभावकारी कारबाही गर्न सकेको देखिँदैन नि !
सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन केही वर्षयता प्रेस काउन्सिलले सक्रियपूर्वक भूमिका निभाइरहेको छ । ठूलो लगानीका सञ्चारमाध्यम र राजनीतिक पार्टीको आडमा सञ्चालित सञ्चार माध्यमहरूलाई पनि प्रेस काउन्सिलले कारबाही गरेको छ । तर, प्रेस काउन्सिलले अझै पूर्ण रूपमा जनविश्वास आर्जन गर्न सकेको छैन । प्रेस काउन्सिललाई सशक्त र प्रभावकारी बनाउन यसको संरचनामा आमूल परिवर्तन गर्न आवश्यक छ । सञ्चार माध्यमहरूको भूमिका ठीक भएन भनेर आलोचना पनि गर्ने तर, सञ्चारमाध्यम र पत्रकारलाई अनुशासित बनाउने संस्था प्रेस काउन्सिललाई बेवास्ता गर्ने सरकारी व्यवहार छ । प्रेस काउन्सिलमा बजेट, जनशक्तिको अभाव र बोर्डको बनोटको कारणले पनि यो संस्था बढी प्रभावकारी हुन सकेको छैन ।

प्रेस काउन्सिल प्रभावकारी नहुनुमा प्रमुख कारण के हो ? यसको बोर्डको बनोट र नियुक्ति प्रक्रिया के के हुन् ?
प्रेस काउन्सिललाई नेतृत्व दिने र प्रभावकारी बनाउने बोर्डका अध्यक्ष र सदस्य हुन् । सीमित स्रोत साधनमा पनि प्रेस काउन्सिका अध्यक्ष योग्य, सक्षम, विश्वसनीय र आदरणीय भएमा यो संस्थाको काम प्रभावकारी पनि हुन्छ, जनविश्वास पनि प्राप्त हुन्छ । यसका अध्यक्ष र सदस्यहरू पत्रकारिता जगतले मात्र होइन, आमजनताले पनि सम्मान र विश्वास गर्ने व्यक्तित्व हुनु आवश्यक पर्दछ । तर, पछिल्लो समयमा मन्त्रीका आफ्ना बेरोजगार हुक्के बैठकेलाई रोजगारी दिलाउन नियुक्ति दिने गलत र गैरजिम्मेवारपूर्ण अभ्यास सुरु भएको छ । यसबाट प्रेस काउन्सिलको छवि बिगिँ्रदै गएको छ । यस्ता त्रुटि सच्याउँदै प्रेस काउन्सिललाई प्रभावकारी बनाउन सकियो भने सञ्चार माध्यमलाई जिम्मेवार, उत्तरदायी र अनुशासित बनाउन प्रेस काउन्सिलले महत्वपूर्ण भूमिका निभाउन सक्दछ ।

प्रेस काउन्सिलको बोर्डमा अध्यक्षदेखि सदस्यसम्म पत्रकार हुन्छन्, उनीहरूबाट सञ्चारमाध्यम र पत्रकारलाई कारबाही हुन अप्ठ्यारो छ भन्ने जनगुनासो छ नि ?
यस्तो जनगुनासो यथार्थपरक छ ।  प्रेस काउन्सिलमा अहिले पत्रकारको मात्र प्रतिनिधित्व हुने व्यवस्था छ । यसमा समाजका अन्य पक्षहरूको प्रतिनिधित्व नभई हुँदैन । प्रेस काउन्सिलमा पत्रकारको साथै सञ्चारमाध्यमका उपभोक्ता र जनप्रतिनिधिहरूको पनि उपस्थिति हुँदा सन्तुलित हुन्छ । प्रेस काउन्सिल सञ्चारमाध्यम र पत्रकारविरुद्ध उजुरी सुन्ने एक मात्र सर्वोच अर्धन्यायिक निकाय हो । सञ्चारमाध्यम र पत्रकारले आचारसंहिता उल्लंघन गरेकोमा यो संस्थाले न्यायिक निर्णय दिनु पर्दछ । यसले यो संस्थाको अध्यक्ष अनिवार्य रूपमा कानुनी विशेषज्ञता हासिल गरेको व्यक्ति हुनु पर्दछ । अन्तर्राष्ट्रिय अभ्यास पनि यही नै छ । ०४८ सालभन्दा अगाडि प्रेस काउन्सिल नेपालको अध्यक्ष सर्वोच्च अदालतको बहालवाला न्यायधीश वा अवकाश प्राप्त न्यायाधीश हुने व्यवस्था थियो । ०४८ सालपछि मात्र प्रेस काउन्सिलको अध्यक्ष पत्रकारिता क्षेत्रको व्यक्ति हुने व्यवस्था भएको हो ।

नेपाली सञ्चारमाध्यम र पत्रकार अराजक छन्, उनीहरूलाई आचारसंहिता पालना गराउन प्रेस काउन्सिलले सक्दैन भन्ने जनगुनासो छ नि ?
नेपाली पत्रकारितामा आचारसंहिता उल्लंघन गर्ने पत्रकार र सञ्चार माध्यमको संख्या न्यून छ । अधिकांश पत्रकार र सञ्चारमाध्यम जिम्मेवार र उत्तरदायी हुनुपर्ने धारणा राख्दछन् । धेरै पत्रकार  र सञ्चार माध्यमहरूले आचारसंहिताको मूल्यमान्यता नबुझेर पनि उल्लंघन गरेको पाइन्छ । उनीहरूलाई आचारसंहिता पालना गर्न उत्प्रेरित गराउन सकियो भने आचारसंहिता पालनाको स्थितिमा निकै सुधार हुन सक्दछ । सानो संख्यामा रहेका केही सञ्चारमाध्यम र पत्रकार भने जानी बुझी पीत पत्रकारिता गरिरहेका छन् । उनीहरूलाई कारबाही गरेर मात्र जिम्मेवार र उत्तरदायी बनाउन सकिन्छ । गम्भीरतापूर्वक र धैर्यतापूर्वक सञ्चारमाध्यम र पत्रकारको नियमन गर्दा प्रेस काउन्सिलले आचारसंहिता पालना गराउन सक्दछ भन्ने मेरो व्यक्तिगत अनुभव र विश्वास छ ।

केही वरिष्ठ पत्रकारहरूबाट प्रेस काउन्सिलको आवश्यकता छैन, यसलाई खारेजी गरिदिए हुन्छ भन्ने टिप्पणी सुनिन्छ नि ?
प्रेस काउन्सिलको अवश्यकता समाप्त भएको होइन, झन् बढेर गएको छ । सञ्चारमाध्यम र पत्रकारको भूमिका जति बढ्दछ, उति प्रेस काउन्सिलको आवश्यकता पनि अभिवृद्धि हुँदै जान्छ । प्रेस काउन्सिल जस्तो संस्था रहेन भने राज्यका निकायहरूको प्रत्यक्ष हस्तक्षेप सञ्चारमाध्यम र पत्रकारहरू माथि पर्न जान्छ । यो स्थितिमा प्रेस स्वतन्त्रता खतरामा पर्दछ । राज्यका निकाय र सञ्चारमाध्यम–पत्रकारलाई सन्तुलनमा राख्ने भूमिका प्रेस काउन्सिलले निभाउँदछ । सञ्चारमाध्यम–पत्रकारलाई जिम्मेवार र उत्तरदायी पनि बनाउने उनीहरूको हक, हित र प्रेस स्वतन्त्रताको संरक्षण सम्वद्र्धन गर्ने दायित्व प्रेस काउन्सिल माथि हुन्छ । त्यसैले प्रेस काउन्सिललाई खारेज नै गरिदिए हुन्छ भन्ने केही वरिष्ठ पत्रकारको टिप्पणी गैरजिम्मेवार र कुण्ठायुक्त हो । पत्रकारिता जगतलाई अराजक र अनुशासनहीन बनाएर आफ्नो निहित स्वार्थ पूरा गरिरहेकोहरूबाट आएका यस्ता टिप्पणी अर्थहीन छन् ।

अन्त्यमा, निर्वाचन आयोग र देशान्तर साप्ताहिक पत्रिका बीचको द्वन्द्वलाई कसरी निकास दिनु उपयुक्त हुन्छ ?
आफ्नो अधिकार क्षेत्र नाघेर सञ्चार माध्यमलाई कारबाही गर्ने आफ्नो गलत निर्णय निर्वाचन आयोगले सच्याउनु र प्रकाशित समाचार झुट्टा हो भनी त्यसको प्रमाणसहित खण्डन गर्नु पर्दछ । पत्रिकाले पनि आफ्नो समाचारको सत्यताको पुनः पुष्टि गर्नु आवश्यक छ । यो विवादको निकाश प्रेस काउन्सिलले दिनु उपयुक्त हुन्छ । निर्वाचन आयोगलाई आफ्नो निर्णय सच्याउन र पत्रिकालाई प्रकाशित समाचार गलत भए खण्डन पत्रिकाले प्रकाशित गर्ने वातावरण प्रेस काउन्सिलले बनाइदिनु पर्दछ । निर्वाचन आयोगको लागि सञ्चारमाध्यम–पत्रकार सहयोगी पक्ष हुन् । सञ्चारमाध्यम–पत्रकारसँग द्वन्द्व बढाउनु निर्वाचन आयोगका लागि पनि उपयुक्त हुँदैन । मिथ्यापूर्ण समाचार प्रकाशित गरेर सञ्चारमाध्यम–पत्रकारले निर्वाचन आयोग जस्तो महत्वपूर्ण निकायको छवि बिगारिदिने कार्य गर्नु हुँदैन ।

प्रतिक्रिया