अतिरिक्त क्रियाकलाप गर्दैनन् विद्यालय

बाबुराम बास्तोला

संखुवासभा । पाठ्यभारसँगै सातामा एक दिन अतिरिक्त क्रियाकलाप गर्नुपर्ने शिक्षा ऐनले तोके पनि संखुवासभाका विद्यालयहरूले त्यस्तो गर्ने गरेका छैनन् ।

हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्नुपर्ने प्रावधान भए पनि जिल्लाका अधिकांश विद्यालयले त्यसमा रुचि देखाउने गरेका छैनन् ।

जिल्लामा ३ सय ७६ विद्यालय छन् ।त्यसमध्ये ८० प्रतिशत विद्यालयले ऐनविपरीत विद्यालय बन्द गर्ने गरेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ ।

शारदा माध्यमिक विद्यालय खराङ चैनपुर, सरस्वती माध्यमिक विद्यालय चैनपुर, सिंहेश्वर माध्यमिक विद्यालय जलजला, जलजला माध्यमिक विद्यालय बिहीबार, शारदा माध्यमिक विद्यालय चैनपुर पोखरी, त्रिवेणी माध्यमिक विद्यालय स्रोत केन्द्र, वाना माध्यमिक विद्यालय स्रोत केन्द्र, सरस्वती माध्यमिक विद्यालय स्रोत केन्द्रअन्तर्गतका विद्यालयले शनिबारका दिनबाहेक अन्य दिन बिदा गर्ने गरेको पाइएको छ ।

उनीहरूले शुक्रबार अतिरिक्त क्रियाकलाप नगरी विद्यालय बिदा गर्ने गरेको विद्यालय निरीक्षक वासु कोइरालाले बताए । शिक्षा ऐन विपरीतका काम गर्ने अधिकार कसैलाई पनि नभएको उनको भनाइ छ ।

सरकारले शनिबार सार्वजनिक बिदा तोके पनि जिल्लाका विभिन्न विद्यालयले अन्य दिन बिदा दिने गरेको पाइएको छ ।

विद्यालयले शोक मनाउने भन्दै विद्यालय बन्द गर्ने र स्थानीय बजार भर्नकै लागि पनि अन्य दिन बिदा गर्ने गरेको पाइएकोले बिदामा एकरूपता ल्याउन शिक्षा कार्यालयले कडा कदम चालेको निमित्त जिल्ला शिक्षा अधिकारी दीपकमणि घिमिरेले बताए ।

शनिबारबाहेक अन्य दिन बिदा गरे विद्यालयहरूलाई कारबाही गर्न थालिएको उनको भनाइ छ । शिक्षा कार्यालयले २ महिनाअघि नेपालमै पहिलोपटक विद्यालयलाई ऐननियम अनुसार सुधार हुन २८ बुँदे निर्देशन पठाइसकिएको घिमिरेको भनाइ छ ।

ऐनमा वार्षिक रूपमा एक विद्यालयका लागि १ सय ७० घन्टी पढाउनुपर्ने र ८ सय पुर्णांकका लागि १ हजार ३ सय ६० घन्टी पढाउनुपर्ने व्यवस्था गरिएको छ । तर, जिल्लाका अधिकांश विद्यालयले तोकिएको पाठ्यभार पूरा गर्न नसकेको पाइएको जिशिकाको तथ्यांक छ ।

माध्यमिक शिक्षा पाठ्यक्रमले परम्परागत, धार्मिक, साधारण तथा संस्कृत शिक्षाका लागि आव ०७३÷७४ देखि लागू हुने गरी साप्ताहिक पाठ्यभार ३९ देखि बढाएर ४० पु¥याएको छ ।

प्रतिक्रिया