लोकगीत संगीतका सदाबहार सर्जक गणेश चौलागार्इं सँग केशव भट्टले गरेको कुराकानी
आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
पछिल्लो समयको दैनिकी सामान्य तरिकाले नै चलिरहेको छ, रहरले लागेको यो गीत संगीतको क्षेत्र भएकोले धेरै समय यसैमा दिइरहेको छु । नयाँ नयाँ गीतहरू सिर्जनाको काम जारी छ ।
तपाइँको बाल्यकाल कसरी बित्यो ?
सामान्य मध्यम वर्गीय परिवारमा जन्मिएकोले मेरो दैनिकी पनि गाँउका अन्य बालबालिकाको जस्तै उकाली ओराली लेकबेंसी गर्दै गाउँले पारिवेशमै बुवाआमा दाइ दिदीहरू सबैको माया पाएर खुसी साथ बाल्यकाल बितेको पत्तै भएन । मेरो बालापन रमाइलो मै बित्यो ।
आज सम्म कस्ता गीत रचना गर्नु भयो ?
म सानैदेखि जनवादी गीतको फ्यान हुँ । जीवन शर्मा, जेवी टुहुरेलगायत आदरणीय अग्रजहरूका सिर्जनाले मनमा भुइँचालो ल्याउथ्यो अझै पनि म दैनिक जसो यस्ता गीतहरू सुन्ने गर्छु तिनकै प्रेरणाले मैले ४ वटा जागरणमुलक गीत लेखेको छु । एउटा आधुनिक गीत आदरणीय दाइ विमल डाँगी को संगीतमा रेकर्ड भएर प्रसारणमा आएको थियो । त्यसैगरी एउटा गजल रेकर्ड गराएको छु । त्यस बाहेक बिशेष मलाई चिनाएका अनि मलाई मन पर्ने ५० वटा लोक दोहोरी गीत लेखेको छु । ६ वटा एकल लोक गीत लेखेको छु भने ६ वटा गीत मा लय सिर्जना गरेको छु ।
तपाइँले सम्झनै पर्ने सर्जक कलाकार को को हुन ?
मेरो रहर नव आगन्तुक साथीहरू देखि सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्व सँग सम्मान पूर्वक सहकार्य गर्न सकँु भन्ने नै हो । हुन त तुलनात्मक रूप मा मैले धेरै संख्यामा गीत प्रकाशन गर्न सफल नभए पनि जति गरेको छु ती सबै गीतहरूमा नयाँ पुराना समकालीन साथीहरू सँगको सहकार्यले भएका छन् । तर, सम्झनै पर्दा निम्न आदरणीय अग्रजहरू ऋषि अधिकारी, विमल डाँगी, राजु पारियार, कुलेन्द्र बिक, खुमन अधिकारी, बिरही कार्की, उद्धव कार्की, मंगल बिक , उदिराम खड्का, बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने, बिष्णु माझी, देवी घर्ती, मुना थापा, टीका पुन, कृष्ण पारियार, पूर्णकला बिसी, हित माया गुरुङ, पार्वती कार्कीलगायतलाई सम्मान पूर्वक सम्झन चाहान्छु ।
त्यस्तै नयाँ समकालीन साथीहरूमा शिशिर भुसाल, सन्तोष के बास्तोला, रोशन बस्नेत, चुडामणी नेपाली , भीम थापा, भीम आले, गोपाल आले, अबिरल कृष्ण खरेल, जोसेफ शाही, भुवन राना, रितु थापा, बिष्णु थापा, गंगा घर्तीलगायतलाई पनि सम्झन चाहान्छु ।
लोक दोहोरी क्षेत्रमा विकृति आएको छ भनिन्छ नि ?
अवश्य पनि, हरेक क्षेत्रमा विकृति विसंगतिले व्याप्त यो देशमा सबभन्दा बढी लोकदोहोरी भनिने गीतहरू मा असाध्यै विकृति बढेको छ । पैसा बंैस यो क्षेत्र हाबि हुँदै गएको छ । पैसा हुनेले जे गरिदिए पनि भएको छ । शब्दमा उश्रृंखलता, अभिनयमा अनुशासनहीन अश्लीलताहरू बढेको छ । गीत संगीतलाई नियमन गर्ने कुनै निकाय छैन, आत्मा अनुशासित इमानदार भएर गीत बनाउनेहरू प्रायः ओझेलमा छन् । यस्ता विकृतिलाई निर्मूल पार्न सबैजना लागि पर्नुपर्छ । नत्र भने लोकगीत भन्ने शब्दमा मात्र सीमित नरहला भन्न सकिन्न ।
तपाइँको भाबी योजना के छ ?
त्यस्तो बिशेष योजना त बनाएको छैन, सामान्य ढंगले आफै सधैं आत्मानुशासित र इमान्दार भएर यसै क्षेत्रमा नयाँ साथीहरूलाई सहयोग गर्नेछु भने आदरणीय दाइदिदीहरू सँग सम्मान पूर्वक सहकार्य गरी यसै क्षेत्रमा क्रियाशील रहने छु ।
अन्तमा भन्न छुटेको केही छ ?
अन्तमा मलाई असाध्यै मनपर्ने आदरणीय दाइ विमल डाँगी प्रति सदा आभारी छु । मेरा गीतको मूल्यांकन गरेर विभिन्न सञ्चारमाध्यम मार्फत् प्रसारण गरिदिने सञ्चारकर्मी, प्रकाशन गर्न सहयोग गर्नुहुने सम्पूर्ण म्युजिक कम्पनी बिशेष गरी बिन्ध्याबासिनी म्युजिक प्रालिका सुवास रेग्मीज्यु प्रति कृतज्ञ छु , मेरा सिर्जनालाई मन पराउने दर्शक श्रोता तथा म सँग सहकार्य गर्ने सम्पूर्ण कलाकार सर्जक स्रष्टालाई धन्यवाद, आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहकार्यको अपेक्षा लिएको छु ।
प्रतिक्रिया