छात्रवृत्तिका लागि पाँच लाखको अक्षयकोष

काभ्रे २२ साउन । धुलिखेलस्थित पूर्ण सञ्जीवनी लङ्खनामाई माध्यमिक विद्यालयमा मा ५ लाख ५० हजार रुपैयाँबराबरको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरिएको छ । ०१७ सालमा स्थापना भएको सो विद्यालयमा ३०५ विद्यार्थी रहेको र तीमध्ये करिब १५० जेहेन्दार गरिब विद्यार्थीलाई लक्षित गरी विभिन्न दाताहरूबाट सो अक्षयकोषको स्थापना गरिएको विद्यालयका प्रध्यानाध्यापक राजेश श्रेष्ठले जानकारी दिए । उनले विद्यालयमा पढ्ने ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका रहेको र उनीहरू गरिब रहेकैले छात्रवृत्ति कोष स्थापना गर्नुपरेकोे बताए । छात्रवृत्ति वितरण कार्यक्रममा प्रध्यानाध्यापक श्रेष्ठले विद्यालयको प्रावि तहसम्मका विद्यार्थीहरूका लागि दिवा खाजाको समेत व्यवस्था गर्न आवश्यक रहेको भन्दै यसले नै विद्यालयको गुणस्तर विकासमा समेत सुधार गर्न सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा कोष स्थापना गर्न सहयोग गरेका समाजसेवी सुदर्शन श्रेष्ठले विद्यार्थीहरूको भविष्यप्रति सबैको उत्तिकै दायित्व रहने हुँदा समाज सुधारमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए । अक्षयकोष स्थापनामा उनले नगद १ लाख ५० हजार सहयोग गरेका छन् । जिल्ला शिक्षा कार्यालय काभ्रे, लायन्स क्लब अफ काठमाडांै अरनिको, भूपूविद्यार्थीलगायतले कोषमा सहयोग गरेका छन् । यस्तै कोषमा समाजसेवी जितकृष्ण घिनाञ्जु, नाराणकपुर पाठक, नीलकण्ठ श्रेष्ठ, ओम श्रेष्ठ, हरिबोल माकजु, बेदप्रसाद कोजु, विजय रेग्मी, दीपक खरेल, निरण खड्का, विमल ब्याञ्जु, कृष्णभूषण कोजु, पशुपति कोजु, बेलप्रसाद कोजुलगायतले सहयोग गरेका छन् । कार्यक्रम समाजसेवी नारायणकपुर पाठकको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा पाठकले विद्यालयले अबका दिनमा शैक्षिक गुणस्तर सुधार गर्नेमा आफूहरू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया