भारतका उपराष्ट्रपतिको निर्वाचन शनिबार

नयाँ दिल्ली । भारतमा उपराष्ट्रपतिको निर्वाचन शनिबार हुने भएको बताइएको छ । भारतीय सत्तारुढ दलहरुको संयुक्त गठबन्धन, नेशनल डेमोक्र्याटिक आवद्ध उम्मेदवार वेन्काइया नाइडु यस मतदानमा विजयी हुने निश्चितजस्तै देखिएको बताइन्छ । यस मतदानको परिणाम पनि शनिबार नै सार्वजनिक गरिने बताइएको छ ।

देशको प्रमुख विपक्षी काँग्रेस पार्टीले भारतीय पश्चिमी राज्य वेस्ट बङ्गालका कृष्ण गान्धीलाई नाइडुको प्रतिद्वन्दीका रुपमा यस निर्वाचनमा उम्मेदवार बनाएको छ । उप राष्ट्रपतिको शपथ १० अगस्तमा हुनेगरी कार्यक्रम सार्वजनिक पनि गरिएको छ । निर्वाचित हुने उपराष्ट्रपतिले हालका उपराष्ट्रपति हमिद अन्सारीलाई प्रतिस्थापन गर्ने छन् ।

भारतका उपराष्ट्रपतिको निर्वाचन भारतीय संसदका दुवै सदनका सदस्यहरुले गोप्य मतदानबाट गर्ने प्रावधान रहेको छ । राष्ट्रपति नभएको अवस्थामा जस्तै राष्ट्रपतिको मृत्यु भएमा, राजिनमा दिएमा र भ्रष्टाचारको मुद्धामा राष्ट्रपति हटेको खण्डमा र उहाँमाथि महाभियोग लागेर पद रिक्त रहेको अवस्थामा राष्ट्रपतिका रुपमा उपराष्ट्रपतिले नै कार्यसम्पादन गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया