लुसाका (जाम्विया) । जाम्वियाको प्रहरीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अन्तर्वाता दिइरहेका समयमा विपक्षी दलका नेतालाई पक्राउ गरेको छ । विपक्षी दल युनाईटेड प्रोग्रेस पिपुल्स (युपीपी) का नेता साभिओर चिसिम्बालाई राजधानी लुसाकामा डायमण्ड टेलिभिजनमा अन्तवार्ता दिइरहेका वेला प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।
सादा पोशाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेको उनको पार्टी युपीपीले पुष्टि गरेको छ । पार्टीका प्रवक्ता किटीजो मुकुकाले आफ्नो नेतालाई प्रहरी मुख्यालयमा राखिएको भएपनि अहिले सम्म पक्राउ गर्नुको कारणका बारेमा केही स्पष्ट नपारेको जानकारी दिए । प्रहरी प्रवक्ता इस्थेर म्वाता कातोङगोले पनि उनलाई पक्राउ गरिएको पुष्टि गरेपनि अन्य जानकारी दिन भने अस्विकार गरे । “उनलाई हामीले ल्याएका हौं, तर अरु विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन,” कातोङगोले भने ।
प्रहरीद्धारा पक्राउमा पर्नुभएका विपक्षी दलका नेता चिसिम्बा राष्ट्रपति इड्गार लुङगु नेतृत्वको सरकारका खरो आलोचक हुनुहुन्छ भने सरकारको तर्फबाट हालै भएको भ्रष्टाचारसम्बन्धी केही विवरणहरू पनि प्राप्त गरेका छन् । नेता चिसिम्बाले हालै मात्र “हाम्रो पैसा फिर्ता देउ” नामक पुस्तक प्रकाशित गर्नु भएको थियो । सरकारी अधिकारीले धेरै भ्रष्टाचार गरेका छन् त्यसका विरुद्धमा अभियान चलाउनु पर्छ भन्ने आशय पुस्तकमा भएको बताइएको छ ।
सरकार विरोधी अभियानकै कारण उहाँलाई केहीदिनदेखि सुरक्षाकमीले पछ्याईरहेका थिए । अहिले पक्राउ गरिएका नेताकै पार्टीका अर्का नेता हकैन्डे हिचिलेमालाई पनि गत अप्रिलमा राजद्रोहको मुद्धा लगाई पक्राउ गरिएको थियो । राष्ट्रपति लुङ्गुले गत महिना संकटकालको घोषणा गर्दै नागरिकलाई निगरानी गर्न तथा पक्राउ प्रहरीलाई थप अधिकार दिएका छन् ।
प्रतिक्रिया