सिरियाली सीमामा सैनिक कारबाही

बेरुत २० साउन । गएको ५ वर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकु समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ । उक्त क्षेत्रमा आतंककारी क्रियाकलापमा वृद्धि भइरहेको र सिरियामा आतंककारीहरूको घुसपैठ रहेको भन्दै कारबाहीलाई केही दिनसम्म सशक्त बनाइने यी २ संयुक्त सैन्यका कमान्डरले जनाएका छन् । उक्त क्षेत्रमा सुरु भएको यस कारबाहीबाट २ देशको सीमामा सयौँ आतंककारीले जारी राखेको हिंसात्मक हमलामा कमी आउने अनुमान गरिएको छ । त्यस इलाकामा रहेका लडाकुलाई यसअघि नै सो क्षेत्र छोड्नको लागि सम्झौता गरिएको थियो । तर, उनीहरूले उक्त क्षेत्र नछोडेपछि हिंसाको क्रम बढेको बताइएको छ ।

लेबनानका प्रधानमन्त्री सआद हारिले सिरियासँगको सीमानामा रहेको इलाकामा सैनिक कारबाही सुरु गर्न हालै मात्र आदेश दिएको बताइएको थियो ।  त्यसैगरी हेज्बोल्लाहका नेता शैख हसन नसराल्लाहले गत हप्ता लेबनान र सिरियाली सेनाले सीमा इलाकाबाट आतंककारीलाई हटाउनको लागि संयुक्त कारबाही गर्ने बताएका थिए । सिरियाली सरकारको नियन्त्रणमा रहेको सैनिकको सञ्चारमाध्यमले सो कारबाही शुक्रबार बिहानबाट सुरु भएको बताएको थियो । प्रधानमन्त्रीको सो आदेशपछि लेबनानी सहर एर्साल र सिरियाली सहर फ्लेएटामाको बाहिरी इलाकामा कारबाही सुरु गरेको सेनाले जनाएको छ ।

प्रतिक्रिया