सुतेर उठ्दा कपाल ठूटो !

indian-womenराजस्थान २० साउन । भारतको राजस्थान र हरियाणा राज्यका ५० भन्दा बढी महिलालाई बेहोस बनाएर कसैले उनीहरूको कपाल काटिदिएको उजुरी प्रहरीसमक्ष पेस गरेका छन् ।महिलाहरूको उजुरीमाथि अनुसन्धान सुरु गरिसकेको प्रहरीले अहिलेसम्म घटनाको वास्तविकता बाहिर ल्याउन नसक्दा महिलाहरू आतंकित बनेका छन् । प्रहरीसमक्ष उजुरी गर्न पुगेकी एक महिलाले आफूमाथि कसैले तीव्र प्रकाश फालेको र बेहोस भएको उल्लेख गर्दै होसमा आउँदा आफ्नो कपाल नभएको बताएकी छन् ।

यसैगरी अर्की महिलाले कुनै अपरिचित पुरुषले बेहोस बनाएर आफ्नो कपाल काटेको उजुरी गरेकी छन् भने कसैले अपरिचित महिलाले आक्रमण गरी कपाल लगेको बताएकी हुन् । भारतको राजस्थान र हरियाणा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । कतिपयले यसलाई भ्रम भनेका छन् भने कतिले घटनाको अविलम्ब अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन प्रशासनलाई दबाब दिएका छन् । कतिपयले भने घटनालाई अलौकिक शक्तिको प्रभावसमेत भनेका छन् ।

भारतमा यसअघि सन् २००६ मा मुम्बईको समुद्री तटको पानी गुलियो भएको अफवाह फैलिएपछि लाखौं मानिस समुद्र तटमा पुगेका थिए । यसैगरी, २००१ मंकीमेन र नब्बेको दशकमा गणेशको मूर्तिले दुध खाएको अफवाह फैलिएको थियो ।

प्रतिक्रिया