मस्जिद आक्रमणमा २९ को मृत्यु ६४ घाइते ,राष्ट्रसंघका निन्दा

काबुल १९ साउन । अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरूमाथि मंगलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिब एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गरेको समाचार छ । सो हमलामा परी मंगलबार नै घटनास्थलमा १५ जनाको ज्यान गएको थियो । त्यस्तै प्राप्त अर्काे एक समाचारमा बुधबार बिहानसम्म मारिएका व्यक्तिको संख्या २९ पुगेको जनाइएको छ । महासचिव गुटरेसका प्रवक्ता स्टेफेन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा सो आक्रमण अत्यन्तै निन्दनीय रहेको र यस्तो घातक हमलामा सक्रिया हुनेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा महासचिवले जोड दिएका छन् ।

‘प्रार्थना गर्न बसेका सर्वसाधारण व्यक्तिलाई यसरी बम हमला गरेर ज्यान लिनु नागरिकको आधारभूत मानअधिकारको गम्भीर हनन् मात्र नभएर मानवता विरुद्धको अपराध हो’ सो विज्ञप्तिमा भनिएको छ ।यस हमलाले नागरिकको बाँच्न पाउने र आफ्नो परम्परा, धर्म र संस्कार अवलम्बन गर्न पाउने अधिकारमाथि हिंसात्मक रूपमा धावा बोलेको कुरा उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा रहेको इराकी राजदूतावासमा भएको हमलाको १ दिनपछि यो हिंसात्मक आक्रमण गरी २९ जनाको ज्यान लिइएको छ । उक्त दूतावासमा भएको हमलामा परी २ जना सर्वसाधारण नागरिकको ज्यान गएको थियो । दूतावासका अरू केही कर्मचारी घाइते भएका छन् । हेरात नगरको एक मस्जिदमा भएको सो हमलामा परी केही बालबालिका पनि मारिएका छन् ।

त्यस्तै, महिला र वृद्धवृद्धाका शव पनि घटनास्थल परिपरि छरपस्ट अवस्थामा रहेका टेलिभिजनहरूले देखाएका थिए ।सो हमलामा परी अरू कम्तीमा पनि ६० जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये कैयौंको अवस्था अत्यन्तै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । सो हमलामा २ जना आत्मघाती हमलाकारीको हात रहेको छ । हमलाकारीमध्येका १ जनाको आफैँले विस्फोट गराएको बमबाट ज्यान गएको छ भने अर्का एकलाई प्रहरीले गोली हानी मारेको थियो ।

प्रतिक्रिया