इस्तानबुल । टर्कीमा राष्ट्रपति रेसेप तैयप एर्डोगानको सरकारले राजनीतिक शक्तिलाई पूर्णतया आफ्नो हातमा केन्द्रित गर्न प्रयासरत छ । प्रतिपक्षी दल पनि आशावादी हुनुपर्ने केही कारण देखिएका छन् । यस महिना इस्तानबुलमा भएको बृहत् प्रदर्शन टर्कीको परिप्रेक्ष्यमा एउटा विरलै मानिने अपवाद थियो । यही जुलाई ९ मा राजधानी अंकाराबाट २५ दिन पैदल हिँडेर प्रजातान्त्रिक स्वतन्त्रताका लागि चलाएको अभियानमा प्रतिपक्षी दलको नेता केमाल किलिकडारोग्लुले आफ्ना समर्थकलाई प्रजातान्त्रिक मूल्य र मान्यताका लागि कुनै कसर नराख्न अभिप्रेरित गरे ।लाखौंको जनसहभागिता रहेको भीडलाई सम्बोधन गर्दै किलिकडारोग्लुले भने, ‘हामीले त्रासको पर्खाललाई भत्काइसकेका हुनेछौं ।’ अभियानको अन्तिम दिन गरिएको समापन समारोहमा उनले भने, ‘हाम्रो न्यायका लागि प्रदर्शन एउटा नयाँ सुरुवात हो । नयाँ कदम हो ।’अहिले सवाल उठ्न सक्छ के टर्कीको विभाजित प्रतिपक्षी खाली कुराभन्दा माथि उठ्न सक्छ अथवा अर्थपूर्ण रूपमा संगठित भएर एर्दोगानको राजनीतिक आधिपत्यलाई चुनौती दिन सक्छ त ?
किलिकडारोग्लुले नेतृत्व गरेको दल रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) ले एर्डोगानको सरकारले गरेको बहुमतकोे शासनबाट निराश टर्कीका नागरिकबाट पाएको उच्च तहको सहयोगको नेतृत्व सम्हालेको छ । तर, टर्कीको नियन्त्रित राजनीतिक वातावरण र वर्तमान राष्ट्रपति सत्तामा रहेका बेला हुने धु्रवीकरणले प्रतिपक्षीको संघर्षलाई कठिन भने अवश्य पार्छ ।किलिकडारोग्लुको अभियान इस्तानबुलको सीमा क्षेत्रमा आइपुगेपछि मैले उनीसँग कुरा गर्दा आफ्नो विरोधमा सहभागीको संख्याबाट उनी आफैँ आश्चर्यमा परेको प्रतिक्रिया दिएका थिए । ‘सहभागिता अपेक्षा गरिएभन्दा कैयौं गुणा बढी भएको छ ।’ उनको प्रतिक्रिया थियो । रिपब्लिकन पिपुल्स् पार्टीका विधायक र प्रदर्शन हुर्रियट दैनिकका पूर्वप्रधान सम्पादक एनिस बर्बरोग्लुको पक्राउलाई लिएर प्रदर्शन भएकोे कुनै योजना विनाको प्रतिक्रिया थियो । तर अभियानको प्रमुख उद्देश्य, यसको दिशाजस्तै, ४ सय ५० किलोमिटर पार भइसकेपछि मात्र सरकारलाई प्रस्ट भयो । त्यो समयसम्म किलिकडारोग्लु इस्तानबुल पुगिसकेका थिए ।
प्रदर्शनकारीले आर्थिक समानता, शैक्षिक अवसर, लैंगिक समानता, जातीय समानताको प्रत्याभूति, धार्मिक समानता, सांस्कृतिक समरूपताका लागि आवाज बुलन्द पार्दै थिए ।त्यसैवेला किलिकडारोग्लुले आफ्नो लक्ष्य टर्कीको राज्यलाई पूर्ण पुनःसंरचना गर्नु रहेको बताए । उनले संसद्लाई पुनः सशक्तीकरण गर्दै कार्यकारी अधिकार दिने, निष्पक्ष न्यायपालिका र स्वतन्त्र सञ्चारमाध्यमका लागि आफ्नो संघर्ष जारी रहने बताए । अव यी कुरामा कति कटिबद्ध रहन्छन् भन्ने विषय रिपब्लिकन पिपुल्स पार्टीका नेताको परीक्षण रहनेछ । पछिल्ला केही वर्षयता अभियान अनुसार सहभागीले चाहेजस्ता सुधार नभइकन प्रदर्शन तुहिएका उदाहरण प्रशस्तै देखिएका छन् । उदाहरणका लागि सन् २०१३ को मे महिनामा सरकारद्वारा इस्तानबुलको गेजी पार्क विस्तार गर्ने योजनालाई ठूलो जमातले विरोध ग¥यो तर नेतृत्वले अडान लिन नसक्दा उपलब्धिविना नै उक्त आन्दोलन सकियो ।
यसपटक पनि यसैखालको नतिजा नआउला भन्ने बलियो आधार स्थापित भइनसकेको स्थिति छ ।सर्वेक्षणले किलिकडारोग्लुको पक्षमा सर्वसाधारणको बढ्दो समर्थन रहेको देखाएको छ । र्यालीको समापनका दिन सार्वजनिक भएको रिसर्च इश्तानबुलको अध्ययनमा रिपब्लिकन पिपुल्स पार्टीका नेताको नेतृत्वमा भएको न्यायको लडाईको पक्षमा ४३ प्रतिशत समर्थन रहेको देखाएको छ । यो यस पहिलेको तुलनामा १७ प्रतिशत अंक बढी हो ।टर्कीको यथास्थितिवादी भ्रमलाई चिर्न सिएचपीका समर्थकले आफ्नो आधार इलाका बाहेकका क्षेत्रमा पनि आवाज बुलन्द गर्न सफल भएको देखिन्छ । सिएचपी नेता किलिकडारोग्लुको नेतृत्वमा भएको यस वर्षको न्यायिक स्वतन्त्रताको लडाइमा कुर्दिस पक्षधर पिपुल्स् डेमोक्रेटिक पार्टी (एचडिपी) को ८३ प्रतिशत सदस्यले समर्थन जनाएका थिए । एर्डोगानको आफ्नै जस्टिस एन्ड डेभलपमेन्ट पार्टी (एकेपी) का १० प्रतिशत सदस्यबीच गरिएको सर्वेक्षणमा अधिकांशले प्रदर्शनले लिएको लक्ष्यमा आफूहरूको समर्थन रहेको जनाएका छन् ।
यो अनपेक्षित, योजनाविहीन नागरिक अवज्ञा आन्दोलनले किलिकडारोग्लुलाई विभिन्न समूहमा रहेका प्रतिपक्षीहरूको ध्रुवीकरणले केही ठूलो प्रतिपक्षीको नेताको भूमिका खेल्न सकेकाले सान्त्वना मिलेको छ ।गत वर्षको जुलाई १५ मा भएको असफल राज्य विद्रोहपछि सरकारलाई अपरिहार्य बनेको तर निरंकुश कारबाहीले धेरै टर्कीका नागरिकलाई विमुख बनायो । अझै पनि जारी रहेको संकटकालले सर्वसाधारणबीच टुटेफुटेर रहेका प्रतिपक्षीलाई कानूनी शासनको स्थापनाका लागि मजबुत हुन अभिप्रेरित गरेको छ । अप्रिलमा भएको संवैधानिक जनमत संग्रहमा एर्डोगानको झिनो मतान्तरको विजयले राष्ट्रपतिलाई संसद भंग गर्न निर्देशन दिन सक्ने, न्यायाधीशलाई एकलौटी नियुक्त गर्ने नयाँ शक्ति प्रदान गरेपछि प्रतिपक्षीलाई थप संकटमा धकेल्यो । तर, यसले धेरै टर्कीबासीलाई प्रतिपक्षबीच एकताको सांलोमा बाँधिन बाध्य तुल्यायो ।
रिसर्च इस्तानबुलको सर्वेक्षणअनुसार रिफरेन्डममा राष्ट्रपतिको शक्ति बढाउने विषयको विरोधीहरू अर्थात् ‘हुँदैन’ भन्नेमध्ये ८५ प्रतिशत जनताले किलिकडारोग्लुको प्रदर्शनमा सहभागीता जनाए । अझ रोचक कुरा त के हुन्छ भन्ने पक्षमा मतदान गरेका पनि ७ प्रतिशत जनताले प्रदर्शनमा सहभागी बनेको बताइन्छ । अहिल्यै किलिकडारोग्लुको नेतृत्वको प्रदर्शनले टर्कीको राजनीतिमा चीरस्थायी प्रभाव पार्छ भनेरै अनुमान गरिहाल्न सकिने अवस्था त छैन तर, कम्तीमा पनि सन् २०१९ को नोभेम्बरका लागि तय भएको राष्ट्रपतीय निर्वाचनमा यसले प्रभाव पार्ने अपेक्षा भने गरिएको छ । यो वर्षको जुलाई महिनाको सुरुवाततिर प्रतिपक्षीलाई मिलेको साधारण सफलताले पनि एर्डोगानलाई टर्कीबासीको भयानक विरोधिका रूपमा उभ्याएको छ । साथै किलिकडारोग्लुको ‘नयाँ सुरुवात’को टर्कीले महशुस गर्न अझै लामो यात्रा बाँकी छ ।
(सिनान उल्गेन इस्तानबुलस्थित अर्थशास्त्र तथा विदेशनीति अध्ययन केन्द्र (इडीएएम)का कार्यकारी प्रमुख तथा कार्नेगी युरोप, ब्रसेल्सका भिजिटिङ स्कलर हुन् ।)
प्रतिक्रिया