हामी हाम्रो रक्षा गर्न सक्षम छौँ – राष्ट्रपति सि

बेइजिङ १८ साउन । चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आफैँ सक्षम भएको बताएका छन् ।  उनले भने, ‘हामीले कुनै पनि हालतमा र कुनै जनता, कुनै पनि संगठन वा अरू कसैलाई पनि देशका विरुद्धमा प्रयोग हुन वा चीनको भूभागमा पृथकतावादी क्रियाकलाप हुन दिदैनौँ, यसका लागि हामी आफैँ एकदमै सक्षम र बलिया छौँ ।’चिनियाँ सेनाको ९०औँ वार्षिकोत्सवका अवसरमा दिएको सन्देशमा राष्ट्रपति चिनफिङले सो धारणा राखेका हुन् ।

चिनियाँ भूभागलाई कसैले पृथकतावादीको पक्षमा पार्न खोज्ने वा यहाँ देशको सार्वभौमिकताको विरुद्धमा चलखेल गर्न खोज्ने खेल भयो भने हामीले जुनसुकै हालत र अवस्थामा पनि त्यसलाई निस्तेज र असफल बनाउन सक्छौँ त्यसका लागि हामी आफैँ सक्षम छौँ, उनले भने ।  बेइजिङको ग्रेट हल अफ द पिपुलमा मंगलबार उपस्थित भएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सैनिक अधिकारीलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

राष्ट्रपति चिनफिङले सन् २०१२ मा आफ्नो कार्यभार सम्हालेपछि राष्ट्रियताको विषयमा निकै कडा अभिव्यक्ति दिँदै आएका छन् ।  उनले देशभित्र हुनसक्ने पृथकतावादी क्रियाकलापमा पनि कडा प्रशासनिक निगरानीका लागि निर्देशन दिएका छन् । चिनियाँ जनसेनाको स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसरमा चीनमा केही दिनयतादेखि वार्षिकोत्सव समारोह र विभिन्न कार्यक्रम सञ्चालन हुँदैआएका छन् ।

प्रतिक्रिया