सुरुभयो मेगा एजुकेसन फेयर

पोखरा । महानगर र आसपासका ‘प्लस टु’ उत्तीर्ण विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै आयोजना गरिएकोे ‘मेगा एजुकेसन फेयर’ सोमबारदेखि पोखरामा सुरु भएको छ । पोखरा सभागृहमा सुरु भएकोे मेलाको ब्रिटिस काउन्सिलका प्रतिनिधि लाउरेल डासेटले आरम्भ गरेका हुन् । उनले यस्ता मेलाले विद्यार्थीलाई आफ्नो भविष्य खोज्न सहज हुने अपेक्षा गरे । बुधबारसम्म चल्ने मेलामा विभिन्न ३० वटा स्टलमा विद्यार्थी र अभिभावकले निःशुल्क वैदेशिक अध्ययन र त्यसका लागि आवश्यक प्रक्रिया ‘प्रोसेसिङ’को बारेमा जानकारी पाउनेछन् । मेलामा पहिलो दिनमा नै विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका आयोजक संस्था वान अपका कार्यकारी निर्देशक रविशंकर झाले जानकारी दिए ।

‘पहिलो दिनमै जसरी सहभागिता देखेका छौँ, यसले हामीलाई निकै उत्साहित बनाएको छ’, उनले भने । मेलामा सहभागी पहिलो हजार जनालाई आयोजकले मायाको चिनो प्रदान गरेको झाले बताए । उनका अनुसार मेला अवधिभर सहभागी मध्येबाट लक्की ड्र मार्फत एक जनाले उपहारस्वरूप ल्यापटप प्राप्त गर्नेछन् । मेलामा सहभागी भएर विद्यार्थी र अभिभावकहरूले वैदेशिक शिक्षा र त्यसका लागि आवश्यक ‘प्रोसेसिङ’ को बारेमा जानकारी लिन सक्नेछन् । ‘एउटै स्थानमा धेरैवटा अनुभवी शैक्षिक परामर्श केन्द्र र विदेशी कलेज तथा युनिभर्सिटीको प्रतिनिधिहरूबाट जानकारी लिने अवसर जुटाइएको किंग्स इन्सिच्युटका म्यानेजिङ डाइरेक्टर महेश भण्डारीले बताए ।‘विद्यार्थीहरूका लागि यो निकै लाभदायक भएको छ’ भण्डारीले भने, ‘एउटै छतमुनि विभिन्न कलेजका प्रतिनिधिहरूको साथमा परामर्शदाताको उपस्थितिले विद्यार्थीलाई यथार्थ बुझ्न सहज भएको छ ।’

उनका अनुसार आफू अध्ययनका लागि जाने कलेजका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गर्न पाउँदा विद्यार्थी निकै सन्तुष्ट देखिएका छन् । ब्रिटिस काउन्सिलको प्रस्तुतिमा भएको उक्त मेलामा बेलायत, अमेरिका र अस्ट्रेलियाका ३ दशकदेखि पुराना कलेज तथा युनिभर्सिटीहरूकोे समेत सहभागिता छ । आफ्नै सहरमा विश्वप्रशिद्ध कलेजका प्रतिनिधिहरूसँग साक्षात्कार गरी त्यहाँको बारेमा जानकारी लिन सक्ने भएपछि विद्यार्थी र अभिभावकले पनि रुचिपूर्वक मेलामा पुगेर जानकारी लिएका छन् । मेलामा शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, न्युजिल्यान्ड, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, जर्मनी, रुस, डेनमार्कलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको सहभागिता छ ।

प्रतिक्रिया