काठमाडौं १७ साउन । एक समय खेल जगतमा नतिजाको हिसाबले क्रिकेटले खुसी आभाष दिने प्रयास गर्यो । त्यसैबीच, विवादमा भने क्रिकेटले मुना पलाउँन सुरु पनि गर्यो । क्रिकेटप्रतिको माया खेलप्रेमीमा भने झांगिइसकेको थियो । त्यसैले त क्रिकेटमा राजनीति खिचातानी हुँदा नेपाली समर्थकले खेलकुदको सर्वोच्च निकाय र देशको राजनीति पार्टीको निकै विरोध गरे । यही विवादमा पिल्छिएको नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिस्तरमा खासै राम्रो प्रदर्शन पनि गर्न सकेन । नेपालभन्दा पछि क्रिकेट सुरु गरेको अफगानिस्तानले टेस्ट मान्यता पाइरहँदा नेपालले एसोसिएट राष्ट्रमै पछि परिसकेको छ । एक समयमा नेपालको सिकार बन्ने गरेको अफगानिस्तान हाल नेपालको उमेरसमूह र सिनियर टोलीको हरेक छनोटमा बाँध बन्ने गरेको ।
यद्यपि,नेपाली क्रिकेटले खुसी दिन छाडे पनि यसको लोकप्रियतामा कमी भने छैन । जब विवादमा सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद्को थप विजारोपण हुन थाल्यो । त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल पनि त्यो सह्य नहुने भन्दै नेपालमाथि प्रतिबन्ध लगायो । तर, अाइसिसीले नै विवाद मिलाउन पहल कदमी बढायाे । आइसिसीको पहलमा बनेको क्रिकेट सल्लाहकार समितिले विवाद सामधानका लागि केही आसलाग्दा प्रयास थालेको छ । जुन नेपाली क्रिकेटका लागि नयाँ आयाम पनि बन्न सक्ने आश गरिएको छ ।
केही वर्षयता विभिन्न विवाद र आन्तरिक बेमेलका कारण दोधारमा परिरहेको क्रिकेटले अब अर्को महिनाबाट लय समात्ने विश्वास गरिएको छ ।
पछिल्लो हप्ताभर बसेको विभिन्न क्रिकेटका हस्तीहरूको बैठकको निर्णयअनुुसार अब आउँदो भदौमा निर्वाचित नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा बस्ने भएको छ । नेपाली क्रिकेटरले तलब खानसमेत आइसिसीको दयामायामा बाच्नुपर्ने अवस्था छ । साथै,नेपाली क्रिकेटका अंगप्रत्यंग नै आइसिसीको रिमोटबाट चल्नुपर्ने अवस्था छ, अहिले नेपाली क्रिकेट क्षेत्रमा ।
नेपाली खेलकुद क्षेत्रमा यस्तो दुःखद अनि दुर्भाग्यपूर्ण समय आउनु वास्तवमा नेपाली खेलकुद क्षेत्रको नै लाजमर्दो परिस्थिति हो । तर, यो हप्ता नेपाली क्रिकेटका अग्रजहरू र हस्तीहरू यही लाजमर्दो अवस्थाबाट कसरी उम्किने भन्ने विषयमा नै केन्द्रित रहे । अन्ततः रोकिरहेको साधारणसभा गर्ने भनी मिति नै तोडे । बैठकको निर्णय र मितिअनुसार आउँदो भदौको पहिलो साता विशेष साधारणसभाले नयाँ विधान पारित गर्नेछ । त्यसो भएमा क्रिकेट विवाद समाधान हुनेछ । नेपाली क्रिकेटको विवाद समाधान गर्न अन्र्तराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले तयार पारेको विधान पारित गराउन क्यानको विशेष साधारणसभा हुन लागेको हो ।
राजधानीमा बसेको क्यानको बैठकले सल्लाहकार समितिले तयार पारेको विधानलाई साधारणसभामा लैजाने निर्णय पनि ग¥यो । क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेको संयोजकत्वमा गठित सल्लाहकार समितिमा निर्वाचित क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल पनि सदस्य थिए । उनीहरूकै सहभागितामा नयाँ विधान तयार पारिएको हो । करिब २ हप्ताअघि नेपाल आएको आइसिसी टोलीले प्रस्तावित विधान साधारणसभाबाट पारित गराउन क्यानलाई निर्देशन दिएअनुसार साधारणसभा बोलाउन लागिएको छ । क्यानको साधारणसभाबाट यो विधान पारित भएपछि नेपाली क्रिकेटको विवाद समाधानको औपचारिक बाटो खुल्ने बताइएको छ । पूर्वअध्यक्ष विनयराज पाण्डेका अनुसार नेपाली क्रिकेटको बाटो अबको एक महिनामा जसरी पनि जिकिर छ ।
उनका अनुसार नेपालको आन्तरिक मिलेमतोबाट नै समाधान हुन नसके आइसिसी आफैंले कदम चाल्ने निश्चित छ । त्यसैले पनि सधैँ समाधान होला कि, भनी बाटो हेरिरहेका वा कुरिरहेका निम्ति गन्तव्य आउने छ । भर्खरै मात्र बामे सर्न थालेको नेपाली खेलकुद यस्तो झमेला वा लफडाबाट सक्दो चाँडो टाढा रहनु जरुरी छ । यद्यपि, त्यो साधारणसभामा विधान पारित हुन त्यति सहज भने छैन । राजनीति स्वार्थ नै यसपटक पनि क्रिकेटको लागि वाधक बन्न सक्छ । त्यसो भएमा नेपालमाथि आइसिसीलगायत छिमेकी भारतको क्रिकेटमा दासत्व बढ्न सक्छ । त्यसैले यस्तो परिस्थितिमा क्रिकेटका सही योजनाकारमाथि मिल्नुको अर्को विकल्प रहनेछैन ।
प्रतिक्रिया