अफगानिस्तानमा सुरक्षाकर्मीको क्षति बढ्दो

काबुल । केही दिनअघि अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोस्टमा तालिवान आतंककारी गरेको आक्रमणमा कम्तीमा २६ सैनिकको मृत्यु भएको सरकारले जानकारी दिएको थियो । तर, योभन्दा बढी संख्यामा सैनिक हताहत रहेका अनुमान गरियो । यस आक्रमणका क्रममा १२ सैनिक बेपत्ता नै रहेका जानकारी दिइएको थियो । १० वर्षभन्दा लामो समयदेखि दक्षिण एसियाली देश अफगानिस्तानमा शान्ति सुरक्षा प्रदान गर्ने काममा खटिइरहेका नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) सैनिकले सन् २०१४ को अन्त्यमा अफगानिस्तान छोडेपछि त्यहाँको सुरक्षा व्यवस्था कमजोर हुँदै गइरहेको देखिन्छ । सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्विन टावरमा अल कायदाको आतंककारी आक्रमणमा सयौं निर्दोष व्यक्ति मारिएपछि उक्त सञ्जालका नेता ओसामाबिन लादेनलाई खोजी गर्ने क्रममा अमेरिकी नेतृत्वमा नेटो सेना अफगानिस्तान प्रवेश गरेको थियो ।

त्यस्तै, देशका राष्ट्रिय सेना तथा नेटो सेना परिचालन एवं द्विपक्षीय आन्तरिक शक्ति व्यवस्थापन गर्ने प्रयोजनवश अफगास्तिान सरकारको अनुरोध र संयुक्त राष्ट्रसंघको सर्वसम्मत निर्णयमा सन् २००३ को अगस्टदेखि नेटोआबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बल (आइएसएएफ) नामक नयाँ सैनिक संगठनको स्थापना भएको थियो । यस संगठनमा विश्वका ४२ राष्ट्रका राष्ट्रिय सेना संलग्न थिए । आइएसएएफ गठन हुनुपूर्व अमेरिकी नेतृत्वका नेटो तथा अफगानिस्तानी राष्ट्रिय सेनाको संयुक्त गठबन्धन शक्तिले सन् २००१ अक्टोबरदेखि २००३ सम्म मुख्यतया तालिवान आतंकवादी र अन्य सशस्त्र विद्रोहीविरुद्ध निरन्तर युद्ध जारी राख्यो । यसरी १३ वर्षसम्म जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन तथा अफगानिस्तान र आसपासका भूमिलाई आतंकवादबाट मुक्त गर्न योगदान दिँदै आएका थिए । सन् २०१४ मा अफगानिस्तानमा शान्तिको अवस्था छाएर नेटो आबद्ध सेनाले आफ्नो फिर्तीको तयारी गरेको भने थिएन । यद्यपि, यसअघिका अवधिको तुलनामा हत्या र आतंकका शृंखलामा कमी भने निश्चय नै आएको थियो ।

तालिवानविरुद्ध युद्ध मैदानबाट नेटोका सेना घर फर्किँदा उनीहरूमा जे जस्तो खुसियाली छाएको थियो, त्यसरी ढुक्क हुने अवस्था भने सबै अफगानिस्तानी जनताहरूमा भएको थिएन । हाल जुन किसिमबाट अफगानिस्तानी सुरक्षाकर्मी तथा सर्वसाधारणको हत्याको क्रम बढेको छ, यसले त्यहाँ नेटो सेनाको अभाव झनै खट्किएको अवस्थाको सिर्जना गरिदिएको छ । मध्य तथा दक्षिण एसियाली क्षेत्रमा विगत एक दशकभन्दा बढी समयदेखि अत्यन्त अशान्त रहेको देश अफगानिस्तानबाट सन् २०१४ को डिसेम्बर ३१ बाट नेटो आबद्ध प्रायः सैनिक फर्किएका थिए । नेटो सैन्य बलको फिर्तीसँगसँगै अफगानिस्तानमा मात्र नभएर दक्षिण एसियामा नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चिन्ता बढेकै थियो–त्यस बखत भोलिको अफगानिस्तानको राजनीतिक अवस्थालाई बिचार गरेर । युद्ध सकिएको तथा देशको सुरक्षा अब अफगानिस्तानी सेना स्वयंले गर्न सक्ने नेटो सैन्यबल फर्किए पनि त्यहाँ केही अमेरिकी सेनालाई थप केही समय फिर्ता नलग्ने निर्णय गरिएको थियो । ती सैनिकलाई युद्ध गर्न मैदानमा भने नखटाइने तर अफगानिस्तानी सैनिकलाई युद्धकलासम्बन्धी तालिम, सल्लाह र सहयोग मात्र गरिने घोषणा भएको थियो ।

यसैअनुरूप, सन् २०१५ को जनवरीदेखि १२ हजार ५ सय जतिको संख्यामा बाँकी रहेका अमेरिकी सैनिकको भूमिका रणस्थलको अग्रपंक्ति योद्धाका रूपमा नरही तालिम प्रदायक वा सहजकर्ताको रूपमा रहेको थियो । आतंकवादविरुद्ध अफगानी सुरक्षा शक्तिलाई तालिम दिने, युद्धकला सिकाउने, सैन्य मनोबल बढाउने र मुलुकमा शान्ति बहाल नरहेसम्म अन्य सबै खाले सामरिक सहयोग निरन्तर कायमै राख्ने गरी अमेरिका र अफगानिस्तानबीच ३ वर्ष जति अघि सम्पन्न भएको द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएअनुरूप यो व्यवस्था कायम गरिएको थियो । लामो समयसम्म सत्तामा रही आफ्नो देशको भूबनोट, प्राकृतिक, खनिज, कृषिलगायत सम्पूर्ण राष्ट्रिय आर्थिक स्रोतसाधन र जनआकांक्षासँग राम्ररी परिचित तालिवानहरू सन् २००१ मा शासनको पतनपछि सशस्त्र विद्रोही एवं खतरनाक आतंककारीमा रूपान्तरित भएका थिए । तालिवान आतंककारीले सोही वर्षदेखि आफ्ना भाइचाराविरुद्ध सुरु गरेका तीव्र हत्या–हिंसाको शृंखलाले केही बर्ष विश्राम नपाउने गहिरो चिन्ता धेरैले त्यही बखत नै प्रकट गरेका थिए ।

नेटो सैन्यबलको प्रबेशपश्चात् भने केही रक्तपात भए पनि स्थायी शान्ति आउने आशामा अफगानिस्तानी जनताहरू एवम् प्रजातान्त्रिक विश्व ढुक्क थियो । सन् २०१४ को डिसेम्बरमा नेटो सैनिक फिर्ता गरिने घोषणा गरिएलगत्तै अफगानिस्तानी जनता र प्रजातान्त्रिक विश्वलाई चिन्तित बनाएको थियो । असंख्य सुरक्षाकर्मी तथा महिला बालबालिकासहित हजारौं निर्दोष नागरिकलाई निर्दयतापूर्वक आमनरसंहार मच्चाउँदै आएका तालिवान आतंककारी समूहलाई नेटो सैनिक फिर्ता भएपछि, अफगान सैनिक शक्ति एक्लैले मात्र तह लगाउन र मुलुकमा शान्ति कायम गराउन सफल होला भन्ने प्रश्नले त्यसैबखत प्रजातान्त्रिक विश्वलाई चिन्तित नपारेको होइन । त्यस चिन्ता हाल यथार्थमा परिणत भएको छ । अफगानिस्तानमा केही वर्ष यता भएका भीषण आतंककारी आक्रमण र युद्ध विभिषिकाहरूमा भएका नागरिक र सुरक्षा कर्मीको हताहतिले देश कहाँ पुग्ने हो विश्व जगतलाई थप चिन्ताको विषय भएको छ ।
नेटो सैन्यबलको फिर्तीपछि अफगानिस्तानमा सुरक्षाकर्मीलक्षित आक्रमणहरू बढेका छन् ।

सन् २०१५ को तुलनामा २०१६ मा अफगानिस्तानमा सुरक्षाबलको हताहतिको संख्या ३५ प्रतिशतले बढ्यो । अमेरिकाआबद्ध एउटा अनुगमन संस्था सिगारका अनुसार सन् २०१६ मा आतंककारी आक्रमणमा परी सैनिक र प्रहरीगरी ६ हजार ८ सयको मृत्यु भएको थियो । सन् २०१७ मा यो संख्या अझै उच्च हुने लक्षण देखा परेको छ । यस वर्षको सुरुदेखि नै सुरक्षाकर्मी हताहतिको संख्यामा अचाक्ली वृद्धि हुँदै गएको समेत सिगारले बताएको छ ।अफगानिस्तानमा सन् २००१ मा संयुक्त सेना प्रवेश गरी तालिवान आतंककारी विरुद्ध कारबाही सुरु गरेयता सन् २०१४ को अन्त्यसम्म नेटोसँग पूर्ण वा आशिकरुपले आबद्ध सुरक्षाकर्मी ६ हजार ८ सय पैंतीस जना र अफगास्तिान राष्ट्रिय प्रहरी १४ हजार १ सय ७३ जनासमेत जम्मा २१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका र यसभन्दा बढी संख्यामा घाइते वा अंगभंग भएका अफगानिस्तानी प्रतिरक्षा तथा गृह मन्त्रालयको तथ्यांकले देखाएको थियो ।अफगानिस्तान युद्धको पहिलो ५ वर्षमा बृहत् संख्यामा अमेरिकी सैनिकले ज्यान गुमाउनुपरेको थियो भने दोस्रो ५ वर्षे कालमा भारी संख्यामा बेलायती तथा क्यानाडेली सैनिक पनि परेका थिए ।

मुख्यतः देशका हेल्माण्ड र कान्दाहार प्रान्तमा रहेका आतंककारीको गढ मानिने दुर्गमस्थलमा मानव रहित युद्धक विमान–ड्रोन आक्रमण केन्द्रित रहेको थियो । त्यस्तै, आइएसएएफलाई सामरिक योगदान सहयोग गर्ने अस्ट्रेलिया, न्युजिल्यान्ड, स्वेडेन, फिन्ल्यान्ड, जर्जिया, जोर्डन, अल्बानिया र दक्षिण कोरियाका प्रशस्त गैरनेटो सैनिकहरूले पनि बलिदान दिएका थिए । नेटो तथा अन्य सैनिकको १३ वर्षसम्मको अपार बलिदान पछिको अफगानिस्तानमा नयाँ वर्ष २०१५ सँगै नयाँ आशाका किरणहरू पलाउलान् भन्ने आशा गरिएको थियो । साथै अफगान सुरक्षाकर्मी आफैंले नेता, जनता र सिंगै देशको सुरक्षाको सम्पूर्ण जिम्मेबारीको भार आफ्नै काँधमा बोक्नेछन् भन्ने भरोसा पनि गरिएको थियो ।

अफगानिस्तानका शान्तिप्रेमी जनताका साथै भौगोलिक सीमा जोडिएका इरान, तुर्कमेनिस्तान, ताजिकिस्तान, पाकिस्तान र चीन तथा सार्कआबद्ध यस क्षेत्रका अन्य छिमेकी देशहरू पनि सन् २०१५ को सुरुवातसँगै अहिलेको जस्तो दिनहुँजसो नरसंहारका घटना कदापि सुन्न चाहँदैन थिए । अफगानिस्तान युद्धको प्रत्यक्ष प्रभाव पाकिस्तानमाथि परिरहेको छ । भौगोलिक सीमाना जोडिएको, आवत जावतमा सुगमताका साथै भाषा, भेष, जाति, धर्म, संस्कृति र अन्य धेरै सामाजिक तत्वहरूको मेलका कारण युद्ध र तालिवान आतंकवादको प्रत्यक्ष पीडा पाकिस्तानले पनि बेहोरिरहेको छ ।यी सबै मुलुकहरू शान्त र समृद्ध अफगानिस्तान चाहन्छन् र त्यसका लागि अफगानिस्तानी सेना नै आत्म निर्भर र सक्षम होओस् भन्ने चाहन्छन् । अफगानिस्तानले पूर्ण राजनीतिक स्वतन्त्रता, आतंकवादबाट मुक्ति र मुलुकको समग्र विकासतर्फ सही मार्ग पहिल्याउनेमा प्रजातन्त्रप्रेमी विश्व समुदाय अझै पनि आशावादी छन् ।

प्रतिक्रिया