नेपाली पुस्तक अभाव :७ लाख विद्यार्थी प्रभावित

भक्तपुर १३ साउन । नेपाल सरकार र युएसआइडीबीच सम्झौता भई देशका ६ जिल्लामा सञ्चालनमा आएको भनिएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सरकारी उदासीनताका कारण अलपत्र परेको छ ।  विद्यार्थीको पठन, सीप कमजोर भएको ठहरका साथ कक्षा १, २ र ३ मा अध्ययन गरिरहेका विद्यार्थीलाई नेपाली विषयको पठन क्षमता वृद्धि गर्न भन्दै उक्त कार्यक्रम लागू गरिए पनि समयमै नेपाली विषयको पाठ्यपुस्तक नपुग्दा पठनपाठनले गति लिन नसकेको हो । देशका दुर्गम क्षेत्रमा मात्रै नभई उपत्यकाकै भक्तपुर जिल्लाको सुडालमा समेत उक्त पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक तथा आवश्यक सामग्री समयमै सम्बन्धित विद्यालयमा नपुग्दा ६ जिल्लाका ७ लाख विद्यार्थी, १५ हजार प्रावि शिक्षक र ५ हजार प्रधानाध्यापक प्रभावित भएका छन् ।

उक्त कार्यक्रम नमुनाको रूपमा काठमाडौं उपत्यकाको भक्तपुरसहित कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरी गरी ६ जिल्लामा सञ्चालित छ । भक्तपुरको सुडालस्थित एक विद्यालयका विद्यार्थीले त अहिलेसम्म नेपाली विषय पढ्न पाएका छैनन् ।  यस्तो हुनुमा जनक शिक्षा सामग्री केन्द्रले प्रकाशित गरेको ‘मेरो नेपाली’ को अभाव भएर होइन । यसको मुख्य कारण सरकारले गत वर्षबाट ‘पूर्ण रूपमा लागू गरिएको’ भनिएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको लापरबाही भएको सो विद्यालयका शिक्षक केदार काफ्लेले बताएका छन् ।  यो समस्या भक्तपुरको मात्र नभएर सो कार्यक्रम लागू भएका अन्य जिल्लाहरूको हो । इजिआरपी लागू भएका अन्य जिल्लाहरूमा पनि अहिलेसम्म सो किसिमको पाठ्यपुस्तक पुगेको छैन । वैशाखमै दिनुपर्ने पुस्तक असार लाग्न लाग्दासमेत दिन सकेको छैन । यसो हुँदा दैनिक पठनपाठनमा समस्या भएको छ ।

गत वर्ष पनि पाठ्यपुस्तकसँगै तालिम पनि साउनमा दिइएको थियो । यो वर्ष पनि सोही समस्या दोहोरिएको छ । जिल्ला शिक्षा कार्यालय भक्तपुरका फोकल पर्सन सविता दंगालले पाठ्यपुस्तक पु¥याउन ढिला भइरहेको बताउँदै वैशाखमै आउनुपर्ने पाठ्यपुस्तक अहिलेसम्म नआएको जानकारी दिइन् । उनले सो कार्यक्रमअन्तर्गत १ सय ९२ दिनको पाठ योजनासहितको निर्देशिका, नमुना पाठ, पाठ्यक्रमको क्षेत्र, सिकाइ सक्षमता उल्लेख भएको शिक्षक सामग्री र विद्यार्थीका लागि अभ्यास पुस्तिकासँगै पाठ्यसामग्री, कथा, कविताका किताबहरू आउनुपर्ने भए पनि नआएको बताइन् । यसैबीच, जनक शिक्षा सामग्री केन्द्रले आफ्ना माग पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रवादी विद्यार्थी संघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

जनक शिक्षाको सानोठिमीस्थित कार्गालयमा धर्ना दिन गएका संघ आबद्ध विद्यार्थीहरूले केन्द्रमा तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपपछि प्रहरीले संघका अध्यक्ष उज्ज्वल पोखरेलसहित ४ जनालाई केहीबेर नियन्त्रणमा लिएको सानोठिमी प्रहरीले जानकारी दिएको छ । संघले यसअघि पाठ्यपुस्तक छपाइमा ढिलाइ र दुर्गममा पुस्तक नपुग्नुको कारणबारे सत्यतथ्य सार्वजनिक गर्न जनक शिक्षालाई ३ दिनको अल्टिमेटम दिएको थियो । उक्त समयमा केन्द्रले संघका मागहरूप्रति कुनै पनि चासो नदेखाएको कारण बिहीबार संघले धर्ना दिएको संघका केन्द्रीय अध्यक्ष पोखरेलले जानकारी दिए ।

शान्तिपूर्ण धर्नामा बसेर दबाब दिइरहेको अवस्थामा प्रहरी हस्तक्षेप गरेको पोखरेलको आरोप छ । पाठ्यपुस्तक छपाइका साथै वितरणमा ढिलाइ भएकाले देशभरका लाखौं विद्यार्थी पाठ्यपुस्तक पाउनबाट वञ्चित रहेको भन्दै संघले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।  अध्यक्ष पोखरेलले पाठ्यपुस्तक छपाइमा ढिलाइ गर्ने निकाय र व्यक्तिमाथि छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया