राजस्व संकलन प्रभावित

लहान ५ साउन । आन्तरिक राजस्व कार्यालयमा लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहुँदा राजस्व संकलन कार्य प्रभावित भएको छ ।कम्प्युटर अधिकृतसहितका कर्मचारीको ०७३ साल भदौमा सरुवा भए पनि उनीहरूको स्थानमा हासम्म कर्मचारी नपठाउँदा कार्यालयको कामकाज प्रभावित भएको छ । १८ जनाको दरबन्दी भए पनि हाल १० जना मात्र कार्यरत रहेका कार्यालय प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए ।कार्यालयमा ९ जना नायब सुब्बाको दरबन्दी रहेकामा अहिले १ जना मात्र कार्यरत छन् भने ६ जना कर अधिकृतको ठाउँमा ५ जना मात्र कार्यरत छन् ।

एकैपटक लामो समयसम्म दरबन्दी रिक्त हुँदा कार्यालयबाट प्रदान गरिने सेवा, बजार अनुगमन, अभिलेख तयार गर्ने, कर संकलनलगायत कार्य प्रभावित भएको अधिकारीको भनाइ छ । कर्मचारी अभावले बजार अनुगमन र घुम्ती शिविर सञ्चालन गर्न सकिएको छैन । गत आवमा लक्ष्यअनुसार राजस्व संकलनसमेत हुन सकेन । ‘सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न समस्या भइरहेको छ’ अधिकारीले भने, ‘रिक्त दरबन्दीमा कर्मचारी पठाउन पटकपटक विभाग र मन्त्रालयमा ताकेता गर्दा सुनवाइ भएको छैन ।’

प्रतिक्रिया