मोदीको बजेट ३७ करोड ४३ लाख

पर्वत ४ साउन । मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आव ०७४÷७५ का लागि ३७ करोड ४३ लाख १२ हजार रुपैयाँ बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको छ । सोमध्ये चालुतर्फ २५ करोड ६४ लाख ४० हजार र पूँजीगततर्फ ११ करोड ७८ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सेती महतले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने गरी योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए । बजेटमा गाउँपालिका सबै वडामा सडकको पहुँच विस्तार गर्ने, गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्ने, वन–पर्यटन–उद्योग–जलविद्युत्, व्यावसायिक कृषि तथा पशुपालनको माध्यमद्वारा स्वरोजगार र रोजगार सिर्जना गरी युवालाई पलायन हुनेबाट रोक्ने योजनालाई पनि नगरसभाले प्राथमिकतामा राखेको बताइएको छ ।

प्रतिक्रिया