स्थानीय निर्वाचनमा ६ अर्ब बढी खर्च ः आयोग

काठमाडौं ४ साउन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म ६ अर्ब ३० करोड ४६ लाख खर्च भएको जनाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो । निर्वाचनका लागि प्राप्त भएको रकममध्ये आर्थिक वर्ष ०७३÷७४ मा खर्च हुन बाँकी रहेको ३ अर्ब रुपैयाँ सरकारलाई नै फिर्ता पठाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई ३ अर्ब १२ करोड ५१ लाख ९९ हजार र क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई हालसम्म १ अर्ब ३१ करोड २३ लाख ७० हजार रुपैयाँ निकासा भएको आयोगले जनाएको छ ।
क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई ७६ लाख ७५ हजार र गृहमन्त्रालयलाई २ करोड ६६ लाख ५८ हजार रुपैयाँ निकासा भएको पनि आयोगले जनाएको छ । त्यस्तै निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म १ अर्ब ५५ करोड ६५ लाख ६० हजार रुपैयाँ खर्च भएको जनाएको छ । निर्वाचन आयोगको केन्द्रबाट मतपत्र छपाई, मतपेटिका खरिद, मतदाता परिचयपत्र छपाइ, मतदाता शिक्षा, कर्मचारीको भत्ता, तालिम, मसी, ढुवानीलगायत शीर्षकमा उक्त रकम खर्च भएको थियो । स्थानीय तह निर्वाचनका लागि भारतले केही यातायातका साधन र चीनले विभिन्न ११ प्रकारका निर्वाचन सामग्री सहयोग स्वरूप उपलब्ध गराएको थियो । सरकारले निकासा गरेको बजेटमध्ये १ अर्ब २५ करोड ४५ लाख रुपैयाँ बाँकी रहेको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया