बुढेसकालको सहारा बन्दै पशुपति वृद्धाश्रम

सुभानु आचार्य

1 page 1

काठमाडौं । पशुपति वृद्धाश्रम गरिब, अशक्त, असहाय र साहराविहीनका लागि बुढेसकालको साहरा । बुढेसकालमा हेरचाह गर्ने कोही नभएका, परिवारवाट उपेक्षित जेष्ठ नागरिकहरूको संगमथलो पशुपति वृद्धाश्रम ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको रेखदेखमा सञ्चालित पशुपति वृद्धाश्रमको क्षमता जम्मा २ सय ३० जनाको छ । जसमा अहिले १ सय १० जना महिला र ८० जना पुरुष गरी जम्मा १ सय ९० जना जेष्ठ नागरिक आश्रय लिइरहेका छन् । पशुपति वृद्धाश्रमको आधिकारिक नाम समाज कल्याण केन्द्र वृद्धाश्रम हो ।

सरकारले ०६२ सालमा बनाएको वृद्धाश्रम नीतिमा ६५ वर्ष पूरा भएको, पालनपोषण गर्ने कोही नभएको, आफ्नो नाममा चलअचल सम्पत्ति नभएको, असहाय र अशक्त नेपाली नागरिकले मात्र वृद्धाश्रममा बस्न पाउने व्यवस्था गरेको छ । अहिले वृद्धाश्रममा हरेक व्यक्तिका लागि एउटा बेड, पंखा, झुलको व्यवस्था गरिएको छ’ वृद्धाश्रमका प्रशासन प्रमुख कृष्णप्रसाद कँडेलले भने, ‘हिँडडुल गर्न सक्नेलाई मथिल्लो तलामा र कम्जोरलाई तल्लो तल्लामा बस्ने व्यवस्था छ ।’ पूर्ण कमजोरलाई अपांग क्षेत्रपट्टि राख्ने गरेको उनको भनाइ छ ।

वृद्धाश्रमका जेष्ठ नागरिकका लागि कुनै दाताले भोजन, लत्ताकपडा, खाजाको व्यवस्था गर्ने ईच्छा व्यक्त गरेको खण्डमा कार्यालयमा १५ दिन पहिले नै समय लिनुपर्ने नियम रहेको कँडेलले बताए । आफ्नो वा परिवारका सदस्यको विवाह, भोज, जन्मदिनको अवसर तथा  बाबुआमाको तिथिको बेला वृद्धाश्रममा खाना खुवाउने, कपडा वा फलपूmल बाँड्ने चलन छ ।

आश्रममा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि चौथो तहको स्टाफ नर्सको दरबन्दी छ ।  साताको ३ दिन आइतबार, मंगलबार र शुक्रबार सबै वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गर्ने गरेको उनको भनाइ छ । वृद्धाश्रममा अहिले विभिन्न ४० जिल्लाका जेष्ठ नागरिकले आश्रय लिइरहेका छन् । आश्रममा रहेका जेष्ठ नागरिकको निधन भएमा वृद्धाश्रमले गुठी संस्थान, घाट सेवा केन्द्र र प्रहरीलाई खबर गर्दछ । प्रहरीले मुचुल्का उठाएर घाटसेवा केन्द्रलाई दिएपछि मात्र घाट सेवाले लास जलाउने गर्दछ । वृद्धाश्रममा हिन्दू, क्रिस्चियन, बौद्धिष्टहरू पनि रहेका छन् ।

आश्रममा वृद्धाहरू बत्ती कात्ने, रुमाल तथा सुइटर बनाउने काम गर्छन् भने वृद्धहरू तास, बाघचाल खेलेर दिन बिताउँछन् । सरकारले जेष्ठ नागरिकका लागि दिने मासिक २ हजार भत्ता वृद्धाश्रममा आश्रय लिने जेष्ठ नागरिकले पनि पाउने व्यवस्था छ । कतिपय अवस्थामा निधन भएका जेष्ठ नागरिकको साथमा केही नगदसमेत भेटिने गरेको छ । ‘त्यस्तो रकम हामी कोषमा जम्मा गरिदिन्छौँ’ प्रशासन प्रमुख कँडेलले भने ‘मृतकको मोक्षका लागि उनीहरूकै नामबाट हरेक वर्षको असार महिनामा त्यो रकमले आश्रम परिसरमा पूजापाठ र श्रद्धान्जली कार्यक्रम गरिदिन्छौँ ।’

वृद्धाश्रमले आश्रय लिइरहेका जेष्ठ नागरिकलाई हरेक दिन बिहान साढे ९ बजे खाना, साढे १ बजे खाजा र बेलुका ६ बजे खाना खुवाउने व्यवस्था गरेको छ । सरकारले पशुपति वृद्धाश्रमका लागि यो वर्ष १ करोड ६९ लाख बजेट छुट्याएको छ । त्यसमध्ये खाद्यान्नमा मात्र १ करोड २४ लाख खर्च हुन्छ भने बाँकी रकम लत्ताकपडा, खाजा, गाडीभाडा तथा प्रशासनिक काममा खर्च हुन्छ ।

प्रतिक्रिया