८० करोड विकास बजेट फिर्ता

राम योङहाङ

auditand_financeofficeइलाम । जिल्लामा प्राप्त बजेटमध्ये ८७ दशमलव ७२ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त ६ अर्ब ४४ करोड ३५ लाख २४ हजार ६ सय २६ रुपैयाँमध्ये ५ अर्ब ६५ करोड २१ लाख २७ हजार ७ सय ७१ रुपैयाँ मात्र खर्च भएको हो । जुन अघिल्लो आवको भन्दा २ अर्ब ३ करोड २७ लाख ६० हजार ९४ रुपैयाँ (५६ दशमलव १६ प्रतिशत) ले बढी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका कोष नियन्त्रक मदनकुमार जिसीले जानकारी दिए ।

जिल्लामा प्राप्त बजेटमध्ये चालुतर्फ ४ अर्ब पाँच करोड ८१ लाख ५४ हजार ८ सय ६० रुपैयाँ र पुँजीगततर्फ २ अर्ब ३८ करोड ५३ लाख ६९ हजार ७ सय ६६ रुपैयाँ रहेको थियो । जसमध्ये २ अर्ब ८१ करोड ७१ लाख ९४ हजार ८ सय ९९ रुपैयाँ चालुतर्फ खर्च भएको छ भने पुँजीगतमा १ अर्ब ८३ करोड ४१ लाख ३२ हजार ८ सय ५२ रुपैयाँ खर्च भएको छ ।

यसरी हेर्दा अघिल्लो आवमा भन्दा गत आवमा चालुमा ९४ दशमल ०६ र पुँजीगतमा ८८ दशमलव ८२ प्रतिशत बढीले खर्च भएको छ ।
कोलेनिकाले सार्वजनिक गरेको खर्चको विवरणमा जिल्लामा सबैभन्दा बढी पुँजीगत रकम खर्च गर्नेमा शहरी विकास तथा भवन डिभिजन कार्यालयले ७४ करोड ७३ लाख ७९ हजार रुपैंयाँ, सडक डिभिजनले ३७ करोड २१ लाख ११ हजार (७४ दशमलव ८३ प्रतिशत), खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले २४ करोड ७८ लाख ६१ हजार रुपैयाँ (९९ दशमलव ४१ प्रतिशत), सिंचाई डिभिजन कार्यालयले १३ करोड ४५ लाख ८७ हजार रुपैंयाँ (९४ दशमलव ९३ प्रतिशत) र जिल्ला समन्वय समितिले ९ करोड ६१ लाख ४५ हजार रुपैंयाँ (८२ दशमलव ३९ प्रतिशत) खर्च गरेका छन् ।

जसले जिल्लाको विकास निर्माणमा आएको बजेट गत वर्षको भन्दा बढि मात्रामा खर्च हुनुले विकासले गति लिएको कार्यालयको दाबी छ । यसैगरी सामाजिक विकासतर्फ सबैभन्दा बढी शिक्षा कार्यालयले एक अर्व १७ करोड ८५ लाख ८९ हजार रुपैंयाँ, जिल्ला स्वास्थ्य कार्यालयले १७ करोड ६४ लाख २८ हजार रुपैंयाँ, महिला तथा बालबालिका कार्यालयले दुई करोड ६२ लाख ६६ हजार रुपैयाँ र शैक्षिक तालिम केन्द्रले ६९ लाख १३ हजार रुपैंयाँ खर्च गरेका छन् ।

कृषि तथा वनतर्फ वन कार्यालयले कार्यालयमा प्राप्त कुल बजेटको ९४ दशमल ६७ प्रतिशत, कृषि विकास कार्यालयले ९३ दशमलव ९४ प्रतिशत, पशुसेवा कार्यालयले ९९ दशमलव ४२ प्रतिशत, भू संरक्षणले ९७ दशमलव ०३ प्रतिशत, वनस्पति कार्यालयले ९१ दशमलव ९७ प्रतिशत, वागबानि विकास केन्द्रले ८६ दशमलव ११ प्रतिशत, सहकारी डिभिजनले ८७ दशमलव ६० प्रतिशत र अलैंची विकास केन्द्रले ९८ दशमलव ५३ प्रतिशत रकम खर्च गरेका छन् ।

कार्यालयका प्रमुख कोष नियन्त्रक रविन कोइरालाका अनुसार स्थानीय निकायतर्फ सबैभन्दा खर्च गर्नेमा जिल्ला समन्वय समितिले ८६ करोड २८ लाख ६२ हजार रुपैंयाँ, जिल्ला प्राविधिक कार्यालयले पाँच करोड ५० लाख २७ हजार रुपैंयाँ, इलाम नगरपालिकाले आठ करोड ५१ लाख ३५ हजार, सूर्योदय नगरपालिकाले १४ करोड दुई लाख २१ हजार र देउमाई नगरपालिकाको कार्यालयले सात करोड २२ लाख २८ हजार रुपैंयाँ खर्च गरेको छ ।

यसै क्रममा जिल्लामा प्राप्त भएको कुल बजेटमध्ये ७९ करोड १३ लाख ९६ हजार आठ सय ७५ रुपैयाँ भने काम नभई सरकारी कोषमा फिर्ता भएर गएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया