अफगान बालिका अमेरिका जान पाए

41FDDB6300000578-0-image-a-8_1499084895940
वासिंगटन । अफगानिस्तानका ६ जना बालिकाले अमेरिकामा आयोजना हुने रोबोटिक्स् प्रतियोगितामा सहभागिताका लागि अमेरिका जान प्रवेशाज्ञा पाएका छन् । यसअघि ती बालिकालाई अमेरिका जाने प्रवेशाज्ञा नदिइएकोमा बुधबार उनीहरूले प्रवेशाज्ञा पाएको जानकारी दिइएको छ । उक्त प्रतियोगिताका आयोजकले बुधबार सो जानकारी दिएका छन् । अमेरिकाले पछिल्लो समयमा मुस्लिम देशका नागरिकलाई अमेरिका जाने प्रवेशाज्ञामा निकै कडाइ गरेको छ । कतिपय मुस्लिम देशका नागरिक त त्यहाँ जानै नपाउनेगरी कानुन निर्माण गरिएको छ । अर्कातर्फ यस्तो प्रतिबन्धित देशको सूचीमा नपरेका पनि कतिपय मुस्लिम देशका विद्यालय पढ्ने बालिकालाई अमेरिका जान प्रतिबन्ध जस्तै गरिएको छ । उनीहरूले गतहप्ता नै अमेरिकाका लागि प्रवेशाज्ञा पाउन आवेदन दिएकोमा अस्वीकृत भएको थियो ।
विश्वका १ सय ५७ देशका १ सय ६३ जना बालिका सो प्रतियोगितामा सहभागी हुँदै छन् । आगामी हप्ता अमेरिकामा आयोजना गरिएको सो प्रतियोगितामा सहभागिताका लागि अफगानिस्तानका ६ जना बालिकाले आवेदन दिएकोमा दुईपटकको अन्तर्वार्तापछिसमेत प्रवेशाज्ञा अस्वीकृत भएको थियो । ‘तर अब उनीहरू अमेरिका जान पाउने भएका छन’ ती आयोजकले अमेरिकी सञ्चारसँग भनेका छन् । उनले भने, बालिका अधिकारका लागि वकालत गर्ने देश अमेरिकाले उनीहरूलाई रोक्नु राम्रो होइन, अब ठीक भएको छ ।
उक्त प्रतियोगितामा अफगानिस्तानसहित पाकिस्तान, जाम्बिया, सुडान, सिरियालगायत देशका बालिका सहभागी हुँदैछन् ।  सो प्रतियोगितामा सहभागी हुन जान लागेकी अफगानिस्तानको हेरात प्रान्तकी १४ वर्षीया फतिमा गाद्रिनले भनिन्, ‘हामी कुनै पनि आतंककारी समूहका व्यक्ति होइनौँ, हामी पनि अमेरिकामा अफगानिस्तानका बालिकाको प्रतिभा देखाउन चाहन्छौँ ।’उनी र आयोजकले पनि सिरियाली शरणार्थी बालिकाहरू र अफगानजस्ता विश्वका कतिपय द्वन्द्वग्रस्त देशका बालिकालाई प्रवेशाज्ञा दिएकोमा अमेरिकालाई धन्यवाद पनि दिए ।

प्रतिक्रिया