पुनर्निर्माण प्राधिकरणको बजेट पारित

Punarnirman-pradhikaranकाठमाडौं २९ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक वर्ष ०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । प्राधिकरण निर्देशक समितिको बुधबारको बैठकले भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि १ खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो । समितिका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणमा हालसम्म भएका कामको समीक्षा पनि ग¥यो । बैठकमा सहभागी समिति उपाध्यक्ष एवं एमालेका नेता भीम रावलले प्राधिकरणको कार्यप्रगति सुस्त रहेको आरोप लगाए ।

‘अहिलेसम्म साढे दुई हजार घर पनि नबनेको देखियो, कर्मचारीका सम्बन्धमा पुरानै समस्या पुनरावृत्ति भयो, प्राधिकरणको काम छिटो छरितो होस् भनी निर्देशन दिइएको छ’, उनले भने । निर्माणाधीन घरको संख्या १ लाख १० हजार रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिए । ‘म आउनुअघि १ हजार घर पनि बनेका थिएनन्, अहिले ४० हजार घर निर्माण भएको छ, ५० हजार विद्यालय पुनर्निर्माणको क्रममा छन्’, उनले भने ।

उनले आफू आउनुअघि बन्दै नबनेका घर बन्यो भनी प्राधिकरणकै वेबसाइटको तथ्यांकले देखाएको पनि बताए । प्राधिकरण ऐनअनुसार पुनर्निर्माणका लागि छुट्याइएको बजेट निर्देशक समितिले पारित गर्नुपर्छ । ३१ जिल्ला हेर्ने गरी बनेको संगठन संरचना पनि बुधबारको बैठकले पारित गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

प्रतिक्रिया