चितवनका किसानलाई ७० प्रतिशत राहत

रत्ननगर २९ असार । बर्डफ्लुबाट कुखुरा नष्ट भएका चितवनका किसानका लागि ७० प्रतिशत थप राहत रकम आएको छ । जिल्ला पशुसेवा कार्यालय चितवनका अनुसार बर्डफ्लुबाट राहत बेहोरेका यहाँका १५ जना कुखुरा व्यवसायीका लागि यसरी राहत आइपुगेको हो । ‘राहत रकम आइपुगेको छ, आवश्यक कागजात र प्रमाण संकलनका क्रममा छौँ, संकलन हुने बित्तिकै उनीहरूको खातामा रकम पठाइदिन्छौँ’, कार्यालयका प्रमुख डा.डिल्लीराम सेढाईंले भने । उनकाअनुसार यसवर्ष १५ जना किसानका लागि ७८ लाख ९० हजार रुपैयाँ आएको छ । क्षति पुगेका किसानले विगतमा सरकारले उपलब्ध गराएको राहत रकमको ७० प्रतिशत रकम पाउने डा.सेढाईं बताउँछन् । ०७० सालमा चितवनमा विभिन्न १५ वटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको थियो । ती फार्मबाट सरकारी निकायले मात्रै ७१ हजार ६ सय ८० कुखुरा नष्ट गरिएको थियो ।

यस्तै ३ लाख २५ हजार अन्डा र १५ टन दाना नष्ट गरिएको थियो । सो समयमा पीडित व्यवसायीलाई १ करोड २४ लाख रुपैयाँ राहत वितरण गरिएको तत्कालीन पशुसेवा कार्यालय चितवनका प्रमुख डा.रामकुमार कार्की बताउँछन् । सो समयमा आशा पोल्ट्री फर्म भरतपुरको सबैभन्दा धेरै कुखुरा नष्ट भएको थियो । उक्त फार्मले सुरुमा ३४ लाख ४८ हजार २ सय ५० राहत रकम पाएको थियो । अहिले पहिलो प्रदान गरिएको राहतको ७० प्रतिशत रकम सरकारबाट थप आएकाले अब उक्त फार्मले २४ लाख १३ हजार ७ सय ७७ रुपैयाँ पाउने पशुसेवा कार्यालय चितवनले जनाएको छ ।  मेघा ग्रुप अफ पोल्ट्री फार्मले १६ लाख रुपैयाँ पाउने भएको छ भने अन्य कुखुरा व्यवसायीको ७ लाखभन्दा तल राहत रकम आएको छ । अहिले पीडित व्यवसायीबाट आवश्यक प्रमाणसहित निवेदन आउने क्रम जारी रहेको र प्रमाण पुगेपछि रकम पठाइने कार्यालयले जनाएको छ ।

बुधबार निवेदन दिन भरतपुर आएका पश्चिम चितवन मंगलपुरका निशाल पोल्ट्रीका सञ्चालक राजेन्द्र हमालले अझै राहत रकम नगन्य भएको बताए । उक्त समयमा हमालको ७ हजार कुखुरा नष्ट भएको थियो । सरकारी तवरमा जम्मा ३ हजार २ सय मात्रै कुखुरा नष्ट भएकाले अरूहरूको मरेका कुखुरा पूरै घाटा लागेको उनले बताए । ‘मेरो करिब ४० लाख रुपैयाँ बढी क्षति भो, हमालले भने, पहिले ४ लाख १९ हजार राहत आयो, अहिले करिब ३ लाख आएको छ, यसले के राहत पायो भन्नु ।’ उनीसँगै न्यु एसएस पोल्ट्रीका कृष्ण पाण्डेको पनि बुधबार पशुसेवा कार्यालयमा निवेदन आएको छ । १ हजार ४ सय कुखुरा नष्ट भएको उनले यसपालि १ लाख २९ हजार राहत रकम पाउँदै छन् । नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालका अनुसार थप राहत रकम आएकाले किसानलाई पशुसेवा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया