चार वर्षमा निर्माण नसकिएको शौचालय

चितवन । चितवनको रत्ननगरस्थित टिकौलीमा निर्माणाधीन शौचालय चार वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । मुख्यगरी सडक छेउछाउमा गाडी रोकेर शौच गर्न रोक्ने उद्देश्यले निर्माण सुरु गरिएको शौचालय निर्माण सम्पन्न नहुँदा यात्रु जैविक मार्गको संरक्षित क्षेत्र प्रयोग गर्न बाध्य छन् ।  रोटरी क्बल अफ रत्ननगरले सडकमा जथाभावी शौच गर्ने प्रवृत्ति रोक्न तथा तीर्थयात्रीका लागि शौचसहित स्नान गर्न सहज बनाउने लक्ष्यसहित यहाँ सुविधायुक्त शौचालय निर्माण सुरु गरेको थियो । आर्थिक स्रोतको व्यवस्थापन गर्न नसक्दा निर्माणमा ढिलाइ भएको रोटरी क्लब अफ रत्ननगरका अध्यक्षविष्णु शर्माले जानकारी दिए । ४८ लाखको लागत अनुमानमा यहाँ ४ वर्षअघि डा.विजय न्यौपाने रोटरीको अध्यक्ष हुँदा निर्माण सुरु गरिएको थियो ।

‘विगतमा निर्माणमा केही ढिलाइ भएको थियो, अहिले कामले तीव्र गति पाएको छ,’ शर्माले भने, ‘आगामी दुई महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।’ यहाँ सुविधायुक्त शौचालय नहुँदा जैविक मार्ग रहेको टिकौली जंगलमै गाडी रोकेर यात्रुले शौच गर्दै आएका छन् । आगामी १ साउनदेखि गाडी रोक्न कडाइ गर्ने सूचना चितवन निकुञ्जले सार्वजनिक गरेका बेला यो आसपास क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या भएको छ । रोटरी क्लब अफ रत्ननगरका सदस्य पूर्ण रिजाल दसैँभित्रमा शौचालय हस्तान्तरण भइसक्ने बताउँछन् । यहाँ मुख्यगरी महिला र पुरुषका लागि अलगअलग शौचालय निर्माण गरिने योजनासहित काम भइरहेको छ ।
१० शौचालय, चार पिसाब गर्न मिल्ने स्थान र चार वटा स्नाककक्ष बनाउने योजनासहित चार वर्षअघि सुविधायुक्त सार्वजनिक शौचालय निर्माण थालिएको थियो ।
विभिन्न क्षेत्रबाट मागेर आर्थिक संकलन गर्नुपर्ने बाध्यताका कारण ढिलाइ भएको रिजाल बताउँछन् । शौचालय निर्माणका लागि अमेरिकामा बस्ने गौरी जोशीले तीन लाखभन्दा बढी रकम दिएको थियो । गत वर्षरत्ननगर नगरपालिकाले दुई लाख र अरू उद्योग व्यवसायीबाट समेत आर्थिक सहयोग आएको थियो । रोटरीका सदस्यहरूले पाँच, १०, २० हजार गरी सक्ने जति रकम संकलन गरेर शौचालय निर्माण सुरु गरेका थिए । कुल ४८ लाख बजेट लाग्ने योजनासहित अहिले शौचालयको निर्माणको काम जारी छ ।

प्रतिक्रिया