गुगललाई साढे दुई अर्ब जरिवाना

अमेरिका । विशाल प्रविधि कम्पनी गुगललाई सर्च रिजल्टहरूमा आफ्नै किनमेल सेवाको प्रवर्धन गरेर शक्तिको दुरूपयोग गरेको भन्दै युरोपेली आयोगले दुई दशमलव सात अर्ब डलर जरिवाना गरेको छ । बजारलाई प्रभावित पार्न खोजेको आरोप लागेको कुनै पनि कम्पनीविरुद्ध उक्त नियामक निकायले लागू गरेको यो नै सबैभन्दा ठूलो रकमको जरिवाना हो । उक्त जरिवाना आदेशले गुगुललाई उसको प्रतिस्पर्धा विरोधी क्रियाकलाप आगामी ९० दिनभित्र बन्द गर्न अन्यथा थप दण्डका लागि तयार रहनसमेत चेतावनी दिएको छ ।

उक्त अमेरिकी कम्पनीले आफूविरुद्धको त्यस्तो कदमप्रति पुनरावेदन गर्ने संकेत दिएको छ । तर, किनमेल परामर्श सेवा सञ्चालन गर्ने तरिकामा गुगलले तीन महिने समयसीमा भित्र परिवर्तन नगरेमा सो कम्पनीलाई उसको माउ कम्पनी अल्फाबेटले दैनिक विश्वव्यापी रूपमा गर्ने औसत आम्दानीको ५५ ले हुन आउने रकम जरिवाना हुन सक्नेछ । उक्त कम्पनीले सार्वजनिक गरेको पछिल्लो वित्तिय प्रतिवेदनका आधारमा त्यो भनेको दैनिक करिब एक करोड ४० लाख डलर हुन आउँछ ।

उक्त कम्पनीका प्रवक्ताले युरोपेली आयोगको फैसलाप्रति प्रतिक्रिया जनाउँदै भने, ‘हामी आज घोषित निर्णयहरूप्रति सम्मानपूर्वक असहमति जनाउँदछौं ।’ ‘हामीले पुनरावेदन गर्ने हुनाले आयोगको निर्णयलाई विस्तृत रूपमा समिक्षा गर्नेछौँ र हाम्रो तर्फको भनाइ राख्न जारी नै राख्नेछौं ।’

प्रतिक्रिया