दक्षिण कोरियाली राष्ट्रपति अमेरिका प्रस्थान

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो । उनी महिना दिनअघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित भएका थिए ।  उनी यसै हप्ता अमेरिका जान लागेका र त्यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्नेे समाचार यसअघि नै कोरियाली सञ्चारमाध्यममा आएको थियो ।  अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपति मुनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गर्ने बताएका थिए ।
उनले कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आवश्यक परामर्श गर्ने र भ्रमणका क्रममा हुने वार्ताले आपसी हित र द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा सहयोग पु¥याउने बताए । उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरू उत्तर कोरियाले आक्रामक रूपमा दिने गरेको छ । राष्ट्रपति मुनले यस विषयमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नेे समाचारमा जनाइएको छ ।  उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लंघन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ ।
त्यसैगरी अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पनि हालै मात्र दिएको एक सार्वजनिक अभिव्यक्तिमा उत्तर कोरियाको कदम खतरनाक रहेको र भोलिका लागि यी कदमहरू विश्वकै खतरा हो भनेका थिए ।  उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको हतियार कार्यक्रम आफ्नो विदेश नीतिको प्राथमिकतामा रहेको बताइरहेका बेला राष्ट्रपति मुनको यो अमेरिका भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । केही दिन मात्र अघि पनि उत्तर कोरियाले अमेरिकाका विरुद्धमा राजधानी प्योङयाङ्मा जुलुस प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका थिए ।

प्रतिक्रिया