बेलायतका विद्यालयमा चक्कु निषेध

लन्डन । बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरूले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ । विद्यालय छिर्ने द्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोेकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण (मेटल डिटेक्टर) जडान गर्न लागिएको लन्डनको महानगर कार्यालयले जनाएको छ ।  लन्डनका मेयर सादिक खानले सो जानकारी बुधबार दिएका छन् । उनले विद्यार्थीले चक्कु बोकेको पत्ता लगाउनका लागि यस्तो संयन्त्र जडान गर्न लागिएको र यसबाट चक्कु बोक्ने युवायुवतीहरूको लत हटाउन सहज हुने धारणा राखे ।
पछिल्लो समयमा बेलायतमा चक्कु आतंक मच्चिने गरेको छ । यसवर्ष मात्र बेलायतमा २४ जनाको चक्कु प्रहारबाटै ज्यान गएको छ । हालै मात्र गरिएको एक अनुसन्धानबाट ती हत्यामा संलग्न भएकामध्ये सबैजसो २५ वर्षमुनिका युवा रहेका थिए ।  युवाहरूमा पछिल्ला केही महिनायता चक्कु बोक्ने लत बढ्दै गएकोले त्यो छुटाउन सहयोग पुगोस् भनेर विद्यालयमा यस्तो उपकरण जडान गर्न लागिएको मेयर सादिकले जानकारी दिएका छन् । यस हप्ता मात्र पनि लन्डन महानगरपालिकाका विभिन्न तीन नगरमा चक्कु प्रहार गरी हत्या भएका तीन छुट्टाछुट्टै घटनाको सामना गरिएको प्रहरीले जनाएको थियो ।

गएको हप्ता लन्डनको प्रहरीले चक्कु जफत गर्ने अभियान चलाएको थियो । उक्त प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार एक हप्तामा मात्र लन्डनका विभिन्न स्थानमा युवाहरूको साथबाट पाँच सय १८ वटा चक्कु फेला पारेको थियो ।  यो कार्बाहीपछि लन्डनको प्रहरी युवालाई चक्कु बोक्ने लत छुटाउन यस्तो नीति बनाउन आवश्यक रहेकोले विद्यालयमा छिर्ने द्वारमा नै उक्त उपकरण राख्ने निर्णयमा पुगेको बताइएको हो । बेलायतमा पछिल्ला केही समय यता आतंककारी हमला र चक्कु प्रहार गरी हत्या गर्नेजस्ता हिंसात्मक घटनामा वृद्धि भएको छ ।

जसले गर्दा यहाँको प्रहरीले विभिन्न सुरक्षा मापदण्डहरू लागू गरिरहेको छ । त्यसैगरी मेयर सादिकले चक्कुले तिम्रो जीवनको रक्षा गर्ने नभई नष्ट गर्ने हो भन्ने सन्देशमूलक अभियानहरू सञ्चालन गर्न महानगरका हरेक समुलाय र नगरीहरूलाई विशेष आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया