विश्वभरका कम्पनी साइबर हमलाको मारमा

जेनेभा । विश्वभरका कम्प्युटर प्रणालीमा एउटा ठूलो साइबर हमला भएको छ जसका कारण ब्यांक, साना व्यापारी, ऊर्जा फर्महरू र यातायात सञ्जाल प्रभावित भएका छन् । उक्त भाइरस पहिलोपटक युक्रेनमा फेला परेको थियो र त्यहाँको सरकारी ऊर्जा कम्पनी साथै देशको मुख्य विमानस्थलमा समस्या देखिएका विवरण आएका थिए । भाइरस लागेको कम्प्युटर खोल्ने बित्तिकै प्रयोगकर्ताहरूलाई पहिचान नखुलेको खातामा विद्युतीय मुद्रा बिट कोइन्सका रूपमा तीन सय डलर फिरौती नतिरेसम्म उनीहरूको कम्प्युटर नखुल्ने चेतावनीमूलक सन्देश दिइएको बताइएको छ ।

डेनमार्कको सबैभन्दा ठूलो सिपिङ कम्पनी मस्र्क, रुसी तेल कम्पनी रोसनियेफ्ट र अमेरिकी फार्मास्युटिकल कम्पनी मर्कका कम्प्युटर प्रणाली अवरुद्ध भएका छन ्।  अमेरिकी सुरक्षा निकायले उक्त हमलाको अनुगमन गरिरहेको जनाएको छ । रुसी एन्टी भाइरस फर्म क्यास्परस्की ल्याबले उसको विश्लेषणमा झन्डै दुई हजार हमला भएको र अधिकांश युक्रेन, रुस र पोल्यान्डमा भएको जनाएको छ । किएभको रेलवे प्रणालीले ग्राहकहरूका कार्डमार्फत शुल्क संकलन रोकेको छ र कयौँ पेट्रोल स्टेसनहरूले आफ्नो कारोबार स्थगित गरेका छन् ।

ब्रिटेनको विज्ञापन एजेन्सी डब्लुपिपीले आफ्नो सूचना प्रविधि प्रणालीमा पनि असर देखिएको बताएको छ ।  अन्तर्राष्ट्रिय प्रहरी संगठनले अन्य सदस्य देशहरूसँग मिलेर आफूले नजिकबाट अवस्थाको अनुगमन गरिरहेको जनाएको छ । यसअघि ‘वानाक्राई’ नामक भाइरसमार्फत दुई महिनाअघि विश्वव्यापी साइबर हमला गरिएका थिए जसबाट ब्रिटेनको नेसनल हेल्थ सर्भिस नराम्रोसँग प्रभावित भएको थियो ।

प्रतिक्रिया