‘कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनविपरीत’

इस्तानबुल । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन विपरीत भएको धारणा राखेका छन् ।  टर्किस राष्ट्रपति रिसेप तैयप एर्दाेगानले आइतबार सो धारणा राखेका हुन् । उनले भनेका छन्, ‘कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको छ र त्यसलाई खुकुलो बनाउने निहुँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरू झनै अवैधानिक छन् ।’ कतारमाथि उसका छिमेकी गल्फ देशले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनुको साथै ऊसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायत देशले पछिल्लो समयमा पुनः कतारमाथि विभिन्न शर्त राखेका छन् ।

उनीहरूले राखेका शर्तहरूमध्ये एउटा कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने पनि हो । योसहित उनीहरूले सामुहिक रूपमा १३ वटा विभिन्न शर्त अघि सारेका छन् । कतारले भने ती सबै शर्तमा कुनै पनि नमान्ने जवाफ दिएको छ । ती देशले कतारसँग हिजो शनिबारसम्म शर्त पूरा भएमा मात्र कतारसँग पुनः सम्बन्ध जोड्ने चेतावानी दिएका थिए । टर्कीको सरकारी समाचार समिति अनादोलु समाचार समितिले राष्ट्रपति एर्दाेगानलाई उद्धृत गर्दै भनेको छ, ‘हामी कतारको साथमा छौँ, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौँ ।’  कतारमाथि यस्तो प्रतिबन्ध लागेको दुई हप्तापछि चार वटा गल्फ देशले कतारमाथि शर्त राखेका छन् ।

कतार समस्याको समाधानका लागि अगुवाई गरेको भन्दै कुवेतले मध्यस्थता गरेको छ । कुवेतमार्फत नै सो शर्तको कुरा आएको हो । ती शर्तहरूमा दोहामा रहेको टर्कीको सैनिक पोस्ट पनि हटाउनुपर्ने भनिएको छ । त्यो शर्तमा पनि कतार सहमत नभएको बताइएको छ ।  टर्किस् राष्ट्रपति तैयपले दोहामा रहेको टर्किस् सैनिक पोस्ट हटाउनका लागि गल्फ देशहरूले दिएको आदेशले टर्कीको अपमान गरेको बताएका छन् । उनले यो शर्त कतारले नमानेर ठीक गरेको बताएको पनि सो समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया