चुरे विनाशले खानेपानीको हाहाकार

चुरे विनाश, प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा धनुषाको पूर्वपश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको ठूलो समस्या सिर्जना भएको छ ।लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि यस क्षेत्रमा पानीको समस्या भएको बताउँछन् जानकारहरू बताउँछन् ।  नक्टाझिज, ढल्केवर, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या विकराल बन्दै गएको छ। मुहान धमाधम सुकेका छन् भने वनमा जतासुकै डढेलो देखिन्छ । सर्वसाधारण धारा र कुवामा रातभर लाइन बस्न बाध्य छन् । पानीको सतह भासिएका कारण इनार, बोरिङ, हातेपाइप, पोखरीलगायत अधिकांश पानीका स्रोत सुकेको स्थानीयवासी बताउँछन् । ‘पिउने पानीको जोहो गर्न पनि मुस्किल पर्न थाल्यो’, पुष्पवलपुर–३ का हिरण लामाले भने, ‘नुहाउने र सरसफाइ त टाढाको विषय भयो ।’

नुहाउनुपरे गाउँले तीन घन्टा टाढासम्म पुग्न बाध्य भएका छन् । लामाका अनुसार पानी अभावकै कारण खुला शौच बढेको छ । लुगा, धुन र नुहाउनका लागि नै भनेर कमला नदी पुग्नुपर्ने बाध्यता रहेको छ ।  कुवा, इनार र पानीको मुहान सुकेकाले पानीको अभाव छ । पानी नपरेकाले यस्तो समस्या मात्र छैन, आलुका बोटसमेत मर्न थालेका छन् । अर्कातिर कृषकले मकै छर्न पाएका छैनन् । ‘चैतको पहिलो सातामा मकै छर्नुपथ्यो, पानी नपरेकाले मकै छर्न पाएका छैनौँ’, लालगढ–६ का महेश बस्नेतले भने ‘यो खडेरीले अनिकाल मात्र होइन, रोगव्याधी पनि ल्याउँछ ।’ पानीको अभावले किसानले यसक्षेत्रमा धानको बीउसमेत राख्न पाएका छैनन् ।  मधुवासामा पानीको मुहान सुकेपछि स्थानीय बासिन्दा खोलाखोल्सीको धमिलो दूषित पानी पिउन बाध्य भएका छन् । औरही, जलाद, बसही, चारनाथ खोलामा पूरै सुख्खा बालुुवाबाहेक केही देखिँदैन ।
अलिअलि पानी रहेको कुवामा पानी भर्न स्थानीयवासी घन्टौँसम्म लाम बस्न बाध्य छन् । स्थानीय अम्बिका लामाले भने, ‘खानेपानी लिन लामो समय लगाएर टाढा जानुपर्छ । दैनिकी निकै कष्टकर बनेको छ ।’ रातु खोलामा वर्षौंदेखि क्रसर व्यवसायीले गर्दै आएको ढुंगा, बालुवा र गिट्टीको अवैध उत्खननले खानेपानीको मुहानमा गम्भीर असर परेपछि इनार सुकेको किसाननगरका स्थानीय गोपाल कार्कीले बताए ।  सामुदायिक वन उपभोक्ता महासंघ, धनुषाका अध्यक्ष सोमप्रसाद शर्माका अनुसार अत्यधिक चुरे दोहनले चुरे क्षेत्र विनाशका कारण पानीका मुहान सुक्न थालेकाले राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको हो । हुनेखानेले त जारको पानी किनेर पनि तिर्खा मेटिरहेका छन्, नहुनेले घन्टौँ हिँडेर, लाममा बसेर पानीको जोहो गर्ने गरेका शर्माले बताए । ढल्केवरका स्थानीय सञ्चारकर्मी विजय साहका अनुसार खानेपानीको अभावले कतिपय किसानले बाख्रा र गाईगोरुसमेत बेचिदिएका छन् ।

साहले भने, ‘दिनभर पिउन र खाना पकाउन आवश्यक पानीको जोहो गर्न हम्मे छ, गाई, बाख्रा पाल्नु कति समस्या होला आफैँ सोच्नुस् न ।’ ग्रामीण क्षेत्रमा मात्र होइन लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि जनकपुर उपमहानगरपालिकामा समेत भूमिगत पानीको लेयर हराउन थालेको छ । जनकपुरमा सय देखि दुई सय ५० फिट मुनिसम्म गाडिएको हाते चापाकल सुक्न थालेको छ । माथिल्लो क्षेत्रमा पानी रिचार्ज हुन नपाउँदा तल्लोभेगमा भूमिगत पानीको लेयर हराउन थालेको राष्ट्रपति तराई–मधेस संरक्षण विकास कार्यक्रमका महेन्द्रनगर युनिटका इन्चार्ज रामेश्वर पण्डितले बताए ।  जिल्ला विकास समिति र संसदीय निर्वाचन क्षेत्र विकास कोषको अधिकांश रकम खानेपानी व्यवस्थापनमा खर्च हुने गरे पनि समस्याको स्थायी समाधान नदेखिएको उत्तरी भेगका बासिन्दाहरू बताउँछन् । गाउँगाउँमा ठूला खानेपानी आयोजना निर्माण गरिदिन आमजनसमुदायको माग रहेको छ ।

अत्यधिक मात्रामा वन फँडानी गरी काठ तस्करी हुन थालेपछि धनुषाको चुरे क्षेत्र अहिले उजाड देखिन थालेको छ । एक दशकअघिसम्म हराभरा रहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा पर्ने सपही भालुखोला चुरे क्षेत्र अहिले उजाड भएको छ । राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै प्रहरी र वन रक्षकको मिलेमतोमै काठ तस्करले यहाँबाट बहुमूल्य रुख कटान गरेपछि वन क्षेत्र घट्दै जानुका साथै उजाड भएको स्थानीयवासीले आरोप लगाएका छन् ।  गोदारका भोला साहले कहिलेकाहीँ वन कार्यालयका कर्मचारीहरू आए पनि तस्करको डरले भनाँै वा उनीहरूसँगको मिलेमतोले कसैले पनि रुख कटानमा रोक नलगाउने गरेको बताए ।

जैविक विविधताले भरिपूर्ण मानिएको यस क्षेत्रलाई हराभरा बनाउन सरकारले पाँच वर्षयता राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास कार्यक्रम लागू गरेको छ । यस कार्यक्रमअन्तर्गत धनुषामा यसवर्ष एक करोड ६८ लाखभन्दा बढी बजेट आए पनि कर्मचारीले कार्यसम्पादन गर्न नसकेपछि अहिलेसम्म झन्डै ५९ लाख मात्र खर्च भएको जिल्ला वन कार्यालय, धनुषाले जनाएको छ ।  सरकारले सामुदायिक वन तथा कबुलियत वन, वृक्ष सुधार तथा निजी वन कार्यक्रमलगायत वृक्षरोपणका लागि चार करोड ८५ लाखभन्दा बढी बजेट विनियोजन गरेको छ । आव सकिन अब दुई हप्ताको समय रहे पनि कर्मचारीको लापर्बाहीका कारण अहिलेसम्म २८ प्रतिशत रकम मात्र खर्च भएको कोष लेखा तथा नियन्त्रण कार्यालय, धनुषाका प्रमुख डा वीरेन्द्रकुमार मिश्रले बताए ।

प्रतिक्रिया