मोसुलको ऐतिहासिक मस्जिद ध्वस्त

masjidएजेन्सी, ८ असार । इस्लामिक स्टेट जिहादी संगठनले इराकको ऐतिहासिक अल–नुरी मस्जिद र यसको शताब्दीऔँ पुरानो मिनारलाई ध्वस्त बनाइदिएको अमेरिकी र इराकी सेनाले जनाएका छन्।

तीन वर्षअघि आफ्नो शासन क्षेत्र घोषणा गरेपछि इस्लामिक स्टेटका नेता अबु बकर अल–बग्दादी उक्त मस्जिदमा सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए। आकाशबाट लिइएका तस्वीरहरुमा उक्त मस्जिदको अधिकांश हिस्सामा क्षति पुगेको र मस्जिद भित्रको स्तम्भ ढलेको देखिएको छ।

इराकी प्रधानमन्त्री हैदर अल अबादीले उक्त मस्जिदलाई भत्काएर इस्लामिक स्टेटले आफ्नो पराजय स्वीकार गरेको बताए। अमेरिकी सेनाले उक्त घटनालाई मोसुल र इराकका नागरिकमाथिको अपराध भनेको छ।

अमेरिकी हवाई आक्रमणका कारण मस्जिद भत्किएको भन्ने जिहादीहरुको आरोपको पनि उसले खण्डन गरेको छ। उक्त मस्जिदलाई मोसुलको सबैभन्दा विशिष्ट किसिमको सम्पदा मानिन्थ्यो। केही ढल्किएको उक्त मस्जिदको मिनार झण्डै ९ सय वर्ष पुरानो रहेको बताउने गरिन्थ्यो।

केही परबाट मोबाइल फोनबाट खिचिएको जस्तो देखिने भिडियो फुटेजमा लगातार भएका विस्फोटले उक्त मिनार र नजिकैका भवनहरु ध्वस्त पारेको देखिन्छ। सरकारी फौजहरु अघि बढेपछि इस्लामिक स्टेटले उक्त मस्जिदमा विस्फोटन गराएको इराकी सैनिक श्रोतले जनाएका छन्।

तर इस्लामिक स्टेटले चाहिँ उक्त मस्जिद अमेरिकी हवाई आक्रमणमा ध्वस्त भएको प्रतिक्रिया दिएको छ जसलाई अमेरिकी गठबन्धनका एक जना कमान्डिङ अधिकारी जोसेफ मार्टिनले खण्डन गरेका छन्। उनले आइएसले मोसुल र इराककै महान सम्पदालाई नष्ट गरिदिएको प्रतिक्रिया दिएका छन्।

उक्त मस्जिद ध्वस्त हुनुलाई एकदमै सांकेतिक घटनाका रुपमा हेरिएको छ। आइएस नेता बग्दादी हालसम्मकै आफ्नो एक मात्र सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा झण्डै तीन वर्षअघि उक्त मस्जिदमा उपस्थित भएका थिए।

प्रतिक्रिया