गर्भवतीले खानेकुरामा विज्ञहरूमै विवाद

pregnency
नयाँदिल्ली । भारतमा गर्भवतीले के खान हुने र के नहुने भनी एक सरकारी कार्यालयले नै जारी गरेका विज्ञापन एवं सन्देशको विषयलाई लिएर स्वास्थ्यका विज्ञहरूबीच नै विवाद उत्पन्न भएको छ ।  सरकारी स्वास्थ्य कार्यालय योगा र प्राकृतिक चिकित्सासम्बन्धी भारतीय केन्द्रीय अनुसन्धान परिषदले आफ्नो प्रकाशनमार्फत जारी गरेको सो सन्देशका विषयमा यस्तो विवाद भएको हो । उक्त परिषदले हालै आफ्नो प्रकाशनमार्फत जारी गरेको सो सन्देशमा मासु र अन्डाबाट गर्भवतीलाई टाढै रहन भनेको छ । भारतमा समय समयमा यस्ता शाकाहारी व्यवहारका बारेमा विभिन्न नीति बन्ने गरेका छन् । सरकारी रेडियो र टेलिभिजनहरूमा पनि यस्ता विज्ञापन निकै आउने गर्दछन् ।

सरकारी कार्यालयले प्रकाशन गरेको सो सन्देशलाई सरकारको आधिकारिक कार्यक्रम अथवा स्वास्थ्य नीतिकै रूपमा लिनुपर्ने हुन्छ । उक्त सन्देशमा भनिएको छ, ‘यस्ता महिला मासु, मासुजन्य पदार्थ, अन्डाबाट टाढै रहनु पर्छ र यौन क्रियाकलाप पनि सो समयमा गर्नुहुँदैन ।’  यसै सन्देशसम्बन्धी विज्ञापनहरू पनि बनेका छन् र भारतीय सरकारी मिडियाले पनि यसलाई आधिकारिक स्वास्थ्य सन्देशका रूपमा प्रचार गर्ने गरेका छन् । ‘गर्भवती अवस्थामा रहेका महिलाले अध्यात्मिक चिन्तत गर्ने, आजापूजा गर्ने, ठूला एवं सफल व्यक्तित्वहरूका जीवनी पढ्ने र आफूलाई सधैँ शान्त स्थान र अवस्थामा राख्ने गर्नुपर्दछ’ सो सन्देशमा भनिएको छ ।
तर यस्ता सन्देशहरूलाई आधुनिक चिकित्सा विज्ञानका विज्ञ एवं चिकित्सकहरूले भने उपहासको संज्ञा दिएका छन् ।

उनीहरूले भनेका छन्, ‘यो सन्देश हास्यास्पद छ, यसको कुनै वैज्ञानिक पुष्ट्याइँ दिइएको छैन त्यसैले व्यावहारिक छैन ।’ आधुनिक चिकित्सा विज्ञानका व्यक्तिहरू र स्वास्थ्यसम्बन्धी विज्ञहरूले यसलाई अवैज्ञानिक र अव्यावहारिक भनेका छन् । उनीहरूले यस्ता विज्ञापन र सन्देशहरू हटाउनुपर्ने बताएका छन् । उनीहरूले भारतमा प्रसूतीजन्य जटिलताका कारण कयौँ महिलाको बर्सेनि ज्यान जाने गरेकोमा यस्ता समस्याको सम्बोधन सरकारले कम मात्र गरेको बताएका छन् । चिकित्सकहरूले धेरै आमाहरूको बच्चा जन्माउने ब्यथा र सुत्केरीजन्य जटिलताका कारण ज्यान जाने गरेकोले त्यसतर्फ कदम चाल्नुको सट्टा उल्टै यस्ता विज्ञापनहरू दिनुलाई हास्यास्पद भनेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०१५ मा मात्र बच्चा जन्माउने क्रममा कम्तीमा पनि ४५ हजार आमाको ज्यान गएको छ ।

भारतमा प्रति एक लाख जीवित जन्ममा एक सय ७४ जना आमाको ज्यान जाने गर्दछ । यसको अर्थ हो एक लाख जना जीवित बच्चा जन्मिदा एक सय ७४ जना आमाले ज्यान गुमाउनुपर्ने हुन्छ । यो तथ्यांक हेर्दा भारत उच्च मातृमृत्यु दर भएका देशमा पर्दछ । संयुक्त राज्य अमेरिकामा भने एक लाख जीवित बच्चा जन्ममा बढीमा १४ जना मात्र आमाको निधन हुने गरेको तथ्यांक छ । ‘डाइटिसियन्’ (सन्तुलित खाना विषयका विज्ञ) ले पनि यो सन्देशलाई हास्यास्पद भनेका छन् । महिलामा आइरनको मात्रा पूरा गर्नका लागि र त्यो पनि गर्भवती अवस्थामा त झन् अन्डा र मासुजन्य पदार्थ खानै पर्नेहुन्छ उनीहरूले भनेका छन् ।

 उनीहरूको तर्क छ, ‘भारतका महिलामा धेरैजसो रक्तअल्पता र आइरनको कमी देखिने गरेको छ भने बालबालिकामा कुपोषणको समस्या छ । यस्तो अवस्थामा झन् बढी प्रोटीन र आइरनयुक्त खानेकुरा नदिँदा थप समस्या हुनेछ ।’आलोचकहरूले भारतमा हाल भारतीय जनता पार्टीको सरकार रहेको र सो दल हिन्दूवादी भएकोले यस्ता मासुजन्य पदार्थहरूबाट टाढा रहने खालका नीतिहरू निर्माण गरेको आरोप लगाउँछन् । यस विषयमा भारत सरकारको आधिकारिक धारणा भने केही छैन । तर, यो सन्देश भारतीय सरकारको स्वास्थ्य मन्त्रालयल मातहत रहने केन्द्रीय अनुसन्धान परिषद्ले प्रकाशन गरेर प्रचारमा ल्याएको हो ।

प्रतिक्रिया