गोजमोलाई शान्ति कायम गर्न आग्रह

Gorkhaland-Janmukti-Morcha
नयाँ दिल्ली ६ असार । दार्जलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (गोजमो)का कार्यकर्ता तथा दार्जलिङवासीलाई आइतबार आफ्ना माग सम्बोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न भारतीय केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहले आग्रह गरेका छन् । गृहमन्त्री सिंहले हिंसाको बाटोबाट कहिल्लै पनि समस्याको समाधान खोज्न नसकिने भएकाले समग्र दार्जलिङवासीलाई शान्त एवं धैर्य रहन आग्रह गरेका छन् । ‘सबै सम्बद्ध पक्षले आफ्ना मतभिन्नता र गलत बुझाईलाई जिम्मेवार बनी वार्ताका माध्यमबाट सौहाद्र वातावरणमा समाधान गर्न सकिन्छ,’ सिंहले भने । भारतजस्तो प्रजातान्त्रिक मुलुकमा हिंसाले समस्याको समाधान खोज्न असम्भव हुने बताउँदै उनले हरेक विषयको आपसी समझदारीबाट समाधान निकाल्न सकिनेमा जोड दिए । ‘म दार्जिलिङ र वरपरका क्षेत्रमा बसोबास गर्ने जनतालाई शान्त र जिम्मेवार बन्न अपिल गर्छु,’ गृहमन्त्री सिंहले एकपछि अर्को गरी जारी ट्विट सन्देशमा लेखेका छन् ।

सिंहले पश्चिम बंगालका मुख्यमन्त्री ममता वनर्जीसँग पनि आइतबार नै कुराकानी गरी दार्जलिङमा देखिएको अवस्थाका बारेमा थप जानकारी लिएका थिए । ‘उहाँ (बनर्जी)ले दार्जिलिङमा रहेको अवस्थाबारे मलाई जानकारी गराउनुभयो,’ गृहमन्त्री सिंहले जनाए । सिंहले शनिबार पनि मुख्यमन्त्री वनर्जीसँग कुराकानी गरेको र दार्जिलिङमा शान्ति स्थापना गर्न यथासम्भव कदम चाल्न आग्रह गरेका थिए । प्राकृतिक सुन्दरता रहेको दार्जिलिङका विद्यालयमा बंगाली भाषालाई अनिवार्य बनाउने निर्णयले विगत केही दिन यता दार्जिलिङवासी व्यापक विरोधमा उत्रिएका हुन् । अर्ध–स्वायत्त गोर्खाल्यान्ड प्रदेश प्रशासनमा पकड रहेको गोजमोले गोर्खाल्यान्डलाई छुट्टै राज्य बनाउन माग गर्दै विरोधको नेतृत्व लिइरहेको छ । आइतबार हजारौँ दार्जलिङवासीले प्रहरी भीडन्तमा मारिएका गोजमोका कार्यकर्ताको मृत शरीर लिएर स्थानीय चोक तथा बजारमा उत्रिएपछि प्राकृतिक सुन्दरताले सिंगारिएको उक्त सहर थप तनावग्रस्त बनेको बताइएको छ ।

शनिबार प्रहरी र गोजमोका कार्यकर्ताबीच व्यापक क्षेत्रमा झडपका घटना भएपछि सम्भावित दुर्घटनाबाट जोगाउन ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । गोजमोले दार्जिलिङको सिङमरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा शनिबार आफ्ना दुई समर्थकलाई प्रहरीले गोली हानी मारेको दाबी गरेको छ । प्रहरीले आफ्नो तर्फबाट गोली चलेको भन्ने भनाइको खण्डन गरेको छ र भनेको छ झडपका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।  दार्जिलिङमा जुन ८ देखि सुरुभएको आन्दोलनका क्रममा शनिबार पहिलो एक जनाको मृत्यु भएको छ । दार्जिलिङमा विगत केही वर्षयता यस्तो खालको विरोध देखिएको थिएन ।

प्रतिक्रिया