खोजखबर

निर्वाचनमा भागलिन राजपालाई आग्रह

सौर्य अनलाइन २०७४ असार ६ गते ९:११ मा प्रकाशित

sita yadavसिराहा, ६ असार ।  कांग्रेसका कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवले संविधान कार्यान्वयन तथा प्राप्त उपलब्धिको रक्षा गर्न निर्वाचन आवश्यक रहेकाले निर्वाचनलाई सफल बनाउन राष्ट्रिय जनता पार्टी (राजपा)सँग आग्रह गरेकी छन्  ।

जिल्ला विकास समिति सिरहाका पूर्वसभापति चन्द्रनारायण यादवको १७ औँ स्मृति दिवसको अवसरमा सोमबार सदरमुकाम सिरहामा चन्द्रनारायण यादव स्मृति ट्रष्टद्वारा आयोजित कार्यक्रममा पूर्वमन्त्री यादवले राजपालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउनकै लागि २ नम्बर प्रदेशको निर्वाचनको मिति सारिएकाले यसलाई राजपाले सदुपयोग गर्नुपर्ने बताइन् ।

मधेसी मोर्चाकै मागअनुसार आफूसमेत सहभागी रहेको पूर्ववर्ती सरकारले संविधान संशोधनका लागि व्यापक प्रयास गरेपनि संशोधनका लागि दुई तिहाइ बहुमत नजुटेकाले त्यो सफल हुन नसकेको उल्लेख गर्दै उनले स्थानीय तहको निर्वाचनपश्चात् संविधान संशोधन हुने विश्वास व्यक्त गरिन् ।

कांग्रेस सधैँ मधेस र मधेसीको पक्षमा रहेकाले कांग्रेसलाई मधेस विरोधी भनेर प्रचार गर्नु भ्रम फैलाउने काम मात्र भएको बताउदै उनले मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजान  कांग्रेसलाई विजयी बनाउनुपर्नेमा जोड दिइन् ।

कांग्रेसकै नेतृत्वमा मुलुकमा शान्ति सम्झौता भयो, संविधान पनि कांग्रेसकै नेतृत्वमा बन्यो, उनले भनिन् ‘अब कांग्रेसले नै मुलुकमा दिगो विकास र समृद्धि हुनेछ, त्यसैले कांग्रेसलाई जिताउनु जरुरी छ ।’

सोही सभामा सांसद तथा कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जिल्लाको समग्र विकासका लागि कांग्रेससँग ठोस योजना रहेकाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन सबैसँग आग्रह गरे।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय