सेयर बजार उक्लन सकेन

bullकाठमाडौं ३० जेठ । दिनभरी नै उतारचढाव देखिएको बजार सोमबार पनि दोहोरो अंक नजिकले घटेको छ । निर्वाचनको अनिश्चितताले लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा सेयर बजार झर्न थालेको हो । बजार ९ दशमलव ९७ अंकले घटेको छ । सोमबार कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । दिनभरीमा १ सय ३८ कम्पनीका जम्मा ४९ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार खुलेदेखि नै ओरालो लागेको सेयर बजार १ घन्टाभित्र १२ अंकले झरेको थियो । त्यसपछि सम्हालिएको बजार पौने १ बजे झिनो अंक बढेर हरियो भयो ।

थोरै समय १ हजार ५ सय ९२ अंकमा रहेको बजार १ बजेपछि भने पुनः घट्न थाल्यो ।  दिनभरीमा ७ लाख ९८ हजार कित्ता सेयरको किनबेच भएको छ । सबैभन्दा बढी आरएसडिसी लघुवित्तको सेयर कारोबार भएको छ । आरएसडिसीको ५ करोड ४४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको हो । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा छ । कम्पनीको ३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । सोमाबर कारोबारमा आएका सबै उपसूचकमा गिरावट आएको छ ।

बैकिङ ७ दशमलव ४९, होटल २८ दशमलव ९९, विकास बैंक १२ दशमलव ९८, जलविद्युत् २३ दशमलव ३८, फाइनान्स २ दशमलव ४, बीमा ८१ दशमलव ०६, उत्पादनमूलक ७ दशमलव ३ र अन्य १ दशमलव ७३ अंकले घटेको छ ।  सोमबार सबैभन्दा बढी वल्ड मर्चेन्ट बैकिङ एन्ड फाइनान्स कम्पनीका सेयरधनीले १० प्रतिशतले कमाएका छन् भने एभरेस्ट बैंकका संस्थापक सेयरधनीले करिब १० प्रतिशत नै गुमाएका छन् ।

प्रतिक्रिया