प्रमुख दलको दृढताः राजपा नआएपनि चुनाव हुन्छ

Sthaniya-nirwachanकाठमाडौं, ३० जेठ । राज्य व्यवस्था ‘सफल, सक्षम र सुदृढ’ भएको उल्लेख गर्दै प्रमुख दलका नेताहरूले राष्ट्रिय जनता पार्टी नआए पनि असार १४ गते स्थानीय तहको दोस्रो चरण निर्वाचन हुने दृढता व्यक्त गरेका छन्।

सत्ता र प्रतिपक्षले एकमतसाथ राजपालाई चुनावमा ल्याउन राजनीतिक दलसम्बन्धी ऐन र स्थानीय तह निर्वाचनमा पहिलो संशोधनसमेत गरेको तर राजपा चुनावमा सहभागी नहुनु रहस्यमय बनेको दाबीसमेत नेताहरूले गरेका छन् । असार १४ गते नै १, २, ५ र ७ प्रदेशका सबै स्थानीय तहमा एकसाथ चुनाव गर्नुपर्नेसमेत उनीहरूले बताएका छन् । प्रदेश नं २ र ५ का केही मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था गर्नुपर्ने उनीहरूको आ‌कलन छ।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री भीमबहादुर रावलले सोमबार राजपाकै मागका आधारमा संविधान जारी हुनासाथ पहिलो संशोधन गरिएको र अहिले फेरि सत्ता र प्रतिपक्षी दलले एकसाथ स्थानीय तह निर्वाचन पहिलो संशोधन र राजनीतिक दलसम्बन्धी ऐनको संशोधन गरे पनि उनीहरू चुनाव छाड्दै आन्दोलनमा जानु राम्रो नभएको बताए।

स्थानीय तह पुनःसंरचना आयोगले ७१९ स्थानीय तह निर्धारण गरे पनि मधेसी मोर्चाको मागअनुसार २ नं प्रदेशमा संख्या थपेर ७ सय ४४ बनाइएको पनि उनले बताए। राजपाले समस्या समाधानमा लाग्नुभन्दा पनि बल्झाउने कार्यमा लाग्नु गलत भएकोसमेत रावलले दाबी गरे।
उनले भने, ‘केही दिनअघि कांग्रेस संसदीय दलमा भएको कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरूको बैठकबाटै सिधै राजपाका शीर्ष नेताहरू भारतीय दूतावासमा राजदूतसँग भेट गर्न गएपछि चुनाव बहिष्कारमा जोड दिन थालेका हुन्।’ आफूले छापामा पढेअनुसार राजदूत पुरीले स्थानीय तहको दोस्रो निर्वाचनमा भाग नलिन राजपाका नेतालाई निर्देशन दिएकोसमेत उनले दावी गरे।

एमाले उपाध्यक्षसमेत रहेका रावलले भने, ‘संसद् बहिष्कार गर्ने तर सुशील कोइराला, पुष्पकमल दाहाल, शेरबहादुर देउवा प्रधानमन्त्रीका उम्मेदवार हुँंदा मतदान गर्न आउने राजपा अहिले आमजनताले आफ्नो स्थानीय नेतृत्व चयन गर्दा बहिष्कार भन्दै हिँड्नुको उद्देश्य चुनाव हुन नदिने र लोकतन्त्र नै खतरामा पार्ने दाउभन्दा अरू केही हुनै सक्दैन।’ राज्य व्यवस्था र सुरक्षा निकाय सक्षम, सुदृढ र सफल भएकाले राजपाको बहिष्कारले चुनाव अवरुद्ध नहुने दाबी रावलले गरे।

कांग्रेस नेता डा। शेखर कोइरालाले भने वैशाख ३१ वा जेठ ३१ वा कुनै उपयुक्त मितिमा एकै चरणमा चुनाव गराउन नसक्नु राज्यको गम्भीर त्रुटि भएको उल्लेख गरे। ‘राजपासँग समझदारी गरी एकै चरणमा चुनाव भएको भए तराई÷मधेसका भूभागमा तेस्रो चरणको चुनाव हुनुपर्नेमाग कहीँ कोहीबाट हुँदैनथ्यो’ उनले भने।

स्थानीय निर्वाचनको मिति सार्न नहुने उल्लेख गर्दै उनले भने, ‘राजपाले संविधान संशोधन र जनसंख्याको आधारमा क्षेत्र निर्धारण नभएसम्म चुनावमा भाग लिँदैन । उसले चुनावमा भाग नलिँदा जित्ने कांग्रेस, एमालेले नै हो तर पाँंच वर्षपछि मुलुक अप्ठ्यारो स्थितिमा जान सक्ने खतराबारे काठमाडौंले बुझ्न सकेन।’ स्थानीय तह थप सम्बन्धमा सरकारले भ्याकेट लगाएको र त्यो सर्वोच्च अदालतले स्विकार्छ वा स्विकार्दैन हेर्नुपर्ने उनले बताए। उनले भने, ‘तराई÷मधेसमा तेस्रो चरणमा जांँदा मधेस र पहाडबीच कालान्तरमा दूरी बढ्ने खतरा हुन्छ।’्

माओवादी केन्द्रका सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले सत्ता प्रतिपक्षी सबै मिलेर राजपालाई निकास दिन एकै दिनमा तीनवटा बैठक बस्दै संसद्को नियमावलीसमेत निलम्बन गरेर ऐन संशोधन गर्दा पनि चुनाव बहिष्कार गर्नु रहस्यमय भएको बताए। उनले भने,‘राजपाको यो रहस्यमय चुनाव बहिष्कारको यात्रा उनीहरूकै लागि आत्मघाती कदम हुनेछ । मधेसमा चुनावी वातावरण बनिसक्यो, चुनाव रोकिँदैन, रोक्न पनि हुँंदैन । आममधेसी जनता चुनावको पक्षमा छन्।’ सुरक्षा चुनौती बढेको सत्य हो, त्यो कार्यलाई सहज रूपमा निकास दिन हाम्रो सुरक्षा निकाय सक्षम र सुदृढ रहेको दाबी उले गरे। विरोधका नाममा बन्द, आमहडतालमा जानुपर्ने बाध्यता राजपालाई नभएको उनले बताए।

राजपाका शीर्ष नेता मंगलबार तराईरमधेसतिर
राजपाका शीर्ष नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा मंगलबार बन्द, आमहडताललगायत विरोध कार्यक्रम सफल पार्न तराई÷मधेस जांँदै छन्। राजपाका महासचिव जितेन्द्र सोनालले राजपालाई चुनावविरोधी बनाई सरकारले चुनावको वातावरण बिगार्दै गएको आरोप लगाए। ‘राजनीतिक मुद्दामा सरकारले उदारतासाथ कन्सिडर गर्नुपर्नेमा, उल्टै सत्ता निर्माणका क्रममा राजपाले दिएको मतको दुरुपयोग गर्दै तीनबुँदे सहमतिको कार्यान्वयन नभएको स्थितिमा हामीबीच आन्दोलनको विकल्प रहेन’ उनले भने, ‘राजपा आफ्नो आन्दोलनमा राष्ट्रिय झन्डासहित अघि बढ्ने भएको छ । अध्यक्ष ठाकुरले जनकपुर, सदस्य राजेन्द्र र महेन्द्र सर्लाही, शरतसिंह भण्डारीले महोत्तरी, राजकिशोर सिरहा र झाले रौतहटको मोर्चा सम्हाल्ने भएका छन्।

राजपासँग छलफल जारी राख्नेः देउवा र दाहाल
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजपासँग छलफल जारी राख्ने निक्र्योल गरेका छन् । दाहालनिवास लाजिम्पाटमा अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार बेलुका प्रधानमन्त्री देउवा गएका थिए। प्रधानमन्त्री र अध्यक्षबीच सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार, दोस्रो चरणको स्थानीय निर्वाचन र राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग वार्ता र संवादको प्रक्रिया पनि जारी राख्ने समझदारी भएको छ।  अन्नपूर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया