नागढुंगा–त्रिपुरेश्वर सडक विस्तार सुस्त

काठमाडौं २९ जेठ । राजधानी भित्रिने मुख्य नाका नागढुंगा–कलंकी–त्रिपुरेश्वर सडक विस्तारको काम निकै सुस्ताएको छ । स्थानीयको लगातारको अवरोध तथा अदालतको स्टेअर्डरका कारण सडक विस्तारको काम खासै हुन नसकेको उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता इन्जिनियर विश्वविजयलाल श्रेष्ठले जानकारी दिए ।कामदारहरू लगातार काममा खटिएको भए पनि विभिन्न अवरोधले निर्माण कार्यमा सुस्तता देखिएको श्रेष्ठले बताए । काम सकिसक्नुपर्ने मिति नजिकिँदै जाँदा बल्ल ३५ प्रतिशत मात्र निर्माण भएको बताइएको छ । सडक विभागले उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत गत ३१ असार ०७२ मा ठेक्का दिएको थियो । कुल १ अर्ब लागतमा २८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएको हो ।

राजधानी भित्रिने मुख्य नाकामा अत्यधिक जाम हुने गरेको र अर्को विकल्प नभएकाले यो सडक फराकिलो बनाउन काम सुरु भएको थियो । समयमै निर्माण सक्न विभिन्न ४ प्याकेज बनाएर ठेक्का दिइएको थियो । त्रिपुरेश्वरदेखि कलंकीसम्मको सडक विस्तारको जिम्मा बज्र गुरु विरुवा सिएम जेभी पाएको छ । यो ३ किलोमिटरको सडक हो । कलंकीदेखि सतुंगलसम्म ३ किलोमिटर खण्ड विस्तारको जिम्मा शर्मा शैलुङ कान्छाराम जेभीले पाएको छ । सतुंगलबाट त्रिभुवन पार्कसम्मको ३ किमी सडक विस्तारको जिम्मा लुम्बिनी शैलुङ जेभीले पाएको छ । यसैगरी त्रिभुवन पार्कदेखि नागढुंगासम्म शर्मा शैलुङ कान्छाराम जेभीले पाएको छ । यो खण्डको लम्बाइ ३ दशमलव ५ किलोमिटर रहेको छ । पुरानो नैकाप, नयाँ नैकाप, तीनथाना, सतुंगल, गुर्जुधारालगायत स्थानमा अदालतले स्टेअर्डर जारी गरेका कारण निर्माणको काम हुन सकेको छैन ।
निर्माणका क्रममा विभिन्न खालका समस्याहरू देखा परेका छन् । सडकमा पर्न आउने घर टहराहरू मुआब्जा विवादका कारण भत्काउन नसकिएको आयोजनाले बताएको छ । स्थानीयले घर जग्गा दुवैको मुआब्जा मागेका कारण दिन नसकिने उपत्यका विकास प्राधिकरणले जनाएको छ । मुआब्जा लिन आग्रह गरे पनि स्थानीय नआएको उपत्यका विकास प्राधिकरणका आयुक्त डा.भाइकाजी तिवारीले बताए । स्थानीयले घर र जग्गा दुवैको मुआब्जा चाहिने भन्दै लगातार विरोध गरिरहनुले सडक विस्तारको कामलाई निकै असर गरिरहेको उनले बताए । सडकबाट विद्युत्का पोलहरू र खानेपानीको पाइपलाइन हटाउनका लागि सरकारी निकायहरूबीच समन्वय हुन सकेको छैन ।
यस्तै ११ फागुन ०७२ मा सर्वोच्चमा सडक विस्तारको विरोधमा परेको रिटमा सुनुवाइ हुन नसकेपछि पनि काममा अवरोध भएको आयोजनाले जनाएको छ । समयमै निर्माण सम्पन्न हुन नसक्दा यात्रुले थप सास्ती भोग्नु परेको छ । निर्माण कहिले सकिन्छ यो भन्न नसकिने आयोजनाले जनाएको छ । अवरोध नभएका क्षेत्रहरूमा धमाधम काम भइरहेको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कुल सडकको चौडाइ २२ मिटर हुने गरी नागढुंगा–कलंकी चार लेनको बनाउन लागिएको छ भने कलंकीदेखि त्रिपुरेश्वर सम्म ६ लेनको बनाइने छ । सडकको बीचमा ग्रिनरी बेल्टसमेत राखिने बताइएको छ । साथै १ दशमलव ५ मिटर लामो छुट्टै साइकल लेन बन्ने उल्लेख छ ।
विवाद नभएका ठाउँहरूमा भने काम भइरहेको आयोजनाले बताएको छ । आयोजनाको अध्ययन अनुसार वर्षा अगावै १ देखि डेढ किलोमिटर पिच हुने प्रवक्ता श्रेष्ठले बताए । निर्माणको लगभग ३५ प्रतिशत काम सम्पन्न भएको छ । समयमै निर्माण सम्पन्न नहुँदा यस क्षेत्रका यात्रुले निर्माणका कारण समस्या खेप्नुपरेको छ । १२ दशमलव ५ किलोमिटर सडक खण्ड छिचोल्न ४ देखि ५ घन्टा लाग्ने गरेको छ । जबकी यो सडक सामान्य गतिमा हिँड्दा पनि १ घन्टा मात्र लाग्ने दुरी छ ।

प्रतिक्रिया