महिलाको सक्रियतामा सडक निर्माण

sadak mahila
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ नांगीमा महिलाको सक्रियतामा सडक आयोजना निर्माण भएको छ । साविक राम्चे गाविसको १ र २ नम्बर मा पर्ने नांगी गाउँका महिलाले सीप र श्रम प्रयोग गरेर सडक स्तरवृद्धि गरेका हुन् । फलामेडाँडा–नांगी–राम्चे सडक आयोजनाको भ¥याङबराह र झिमडाँडा क्षेत्रको सडक सोलिङ गर्ने काममा महिला परिचालन भएका उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण गर्बुजाले बताए । ‘चार सय २५ मिटर सडकमा ढुंगा बिछ्याएर सोलिङ गर्ने कार्यमा महिला खटिएका थिए’ अध्यक्ष गर्बुजाले भने, ‘डेढ सय जना महिलाले एक÷एक दिन श्रमदान र पाँच÷पाँच दिन ज्यालामा काम गरेर सडकमा ढुंगा बिछ्याएका हुन् ।’ उक्त योजनाका लागि जिल्ला समन्वय समितिले पाँच लाख र साविक गाविस कार्यालयले तीन लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।

हिलोमा सवारीसाधन फस्ने समस्या भएको ठाउँमा ढुंगा बिछ्याएपछि सहज भएको छ । कच्ची सडकमा सवारीसाधन हिलोमा फस्ने समस्याले गर्दा आवतजावतमा कठिनाइ भएपछि गाउँका सबै महिला मिलेर सडक निर्माण गरेको उपभोक्ता समितिका सचिव माया पुनले बताए ।  बाहिरबाट मजदुर ल्याउँदा भनेको बेला काम नहुने, बजेट फिर्ता हुने र गुणस्तरीय काम नहुने भएपछि महिला अग्रसर भएका पुनले जानकारी दिए । उनीहरूले सुरु गरेको एक महिनाभन्दाअघि नै काम सम्पन्न गरेका छन् । आयोजनाबाट स्थानीयले रोजगारीसमेत पाएका छन् ।  सडक निर्माणका क्रममा महिलालाई गाउँका पुरुषले पनि साथ दिएका थिए ।

पुरुष रोजगारीका लागि विदेश र सहरमा गएकाले नांगीमा सञ्चालन हुने खानेपानी, सडक, भवन निर्माणलगायतका योजनामा महिलाको सहभागिता बढी हुने गर्छ । अन्नपूर्ण–८ का वडा सचिव कृष्ण विश्वकर्माले नांगीका महिलाको सक्रियतामा सम्पन्न सडक आयोजना नमुनायोग्य भएको बताए । गत वर्ष पनि फलामे डाँडा नांगी राम्चे सडक आयोजनाको काम महिलाकै सक्रियतामा भएको थियो ।

प्रतिक्रिया