डेढ शताब्दीपछि चियाको अध्ययन !

इलाम १८ जेठ । नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ । राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्यांक विभागले फिक्कलदेखि चियाखेतीको अध्ययन सुरू गरेको हो । एक वर्षमा अध्ययन पूरा गर्ने लक्ष्यका साथ तथ्यांक विभागले फिक्कलस्थित चिया उद्यमी, चिया किसान, चिया सहकारी र प्राविधिकसँग छलफल गरेको छ । आगामी पुस महिनासम्ममा सर्भेक्षण सम्पन्न गरिने तथ्यांक विभागका निर्देशक बद्रीबहादुर कार्कीले बताए ।

नेपाली चियाको परिचय, त्यसले ओगटेको जग्गा, उत्पादन, क्षेत्रफल, ऋण तथा अनुदानको विवरण संकलन गरिने छ । रासायनिक मल तथा विषादी प्रयोगको असर, रोजगारको अवस्था, बजारको अवस्था, बिक्री मूल्य, र आयात निर्यातसम्बन्धी अध्ययन गरिनेछ । चियाखेतीसम्बन्धी सरकारी क्षेत्रबाट अध्ययन नहुँदा राष्ट्रिय योजना आयोगले योजना निर्माण तथा कार्यान्वयन गर्न समस्या भएकाले उक्त सर्भेक्षण थालिएको तथ्यांक विभागका अधिकृत गणेशप्रसाद फुयालले बताए ।

तत्कालीन इलामका वडाहाकिम गजराजसिंह थापाले इलाम बगानमा १९२० मा चियाको बिरुवा रोपेर सुरू भएको चियाखेती अहिले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका साथै अन्य जिल्लामा समेत चियाको व्यावसायिक खेती गरिँदै आएको छ । अहिले चियाखेतीमा साना ठूला गरी ३० हजार किसान संलग्न छन् ।

प्रतिक्रिया