राजपा नेताहरू फेरि भारतीय दूतावास पसे:निर्वाचनसम्बन्धमा अभिमन्त्रणा

Couple-of-Madhesi-;;;;Savasadकाठमाडौं १७ जेठ । सरकारले चुनावको नयाँ मिति तय गरेसँगै राजपा नेपालका नेताहरू लैनचौरस्थित भारतीय दूतावासमा छलफलका लागि पुगेका छन् ।राजपाका नेताहरू भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग छलफलका लागि मंगलबार भारतीय दूतावास पुगेका हुन् । मन्त्रिपरिषद्को बैठकले सोमबार मात्रै राजपालाई चुनावमा सहभागी गराउन ३१ जेठमा हुने स्थानीय तहको चुनाव ९ असारका लागि सार्ने निर्णय गरेको थियो । छलफलमा राजपाका नेताहरूले आफूहरूको चाहनाअनुसार चुनावको मिति सारिएको भए पनि अझै वातावरण बनिनसकेको राजदूत पुरीलाई बताएको स्रोतले जनाएको छ ।  तर, राजदूत पुरीले मधेसी दलकै चाहनाअनुसार सरकारले चुनावको मिति सारेकाले अब चुनावमा सहभागी भए राम्रो हुने सुझाव दिएको बताइएको छ ।

सिंहको भनाइ उद्धृत गर्दै भेटमा सहभागी राजपाका एक नेताले भने, ‘राजपालाई चुनावमा सहभागी गराउनकै लागि सरकारले चुनाव सारेको हो । त्यसलाई विचार गरेर जाँदा नै मधेसी दललाई फाइदा पुग्न सक्छ ।’ राजदूत पुरीले आफूहरूले सुझाव मात्रै दिएको भन्दै कसरी अघि बढ्ने भन्नेमा सुझबुझ तरिकाले निर्णय लिनसमेत राजपाका नेताहरूलाई सम्झाएर पठाएको स्रोतको दाबी छ । छलफलमा राजदूत पुरीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अब बन्ने सरकारले मोर्चाको माग पूरा गर्न तत्परता देखाउनेजस्तो संकेत मिलेको बताएका थिए । ‘भारत मधेसको माग पूरा होस् भन्ने चाहन्छ तर, लोकतन्त्रको सुन्दर पक्ष चुनाव भएकाले त्यसमा सहभागी हुँदा राम्रो हुन्छ’, राजदूत पुरीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामीले अरू भन्न मिल्दैन ।

सुझाव मात्रै दिने हो । तर, अब पनि चुनावमा नगए सन्देश नराम्रो जानसक्छ ।’ जवाफमा मधेसी नेताहरूले आफूहरू पनि चुनावमा जान तयार रहेको भन्दै आफ्ना मागहरू पूरा हुनुपर्ने मात्रै भनेको भनी पुरीलाई जानकारी दिएका थिए । मधेसी मोर्चाका नेताहरू राजनीतिक संकट चुलिएपछि यसअघि पनि पटकपटक भारतीय दूतावास छिर्ने गरेका छन् ।  राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर, शरतसिंह भण्डारी, अनिल झा र राजेन्द्र महतो लैनचौर बैठकमा सहभागी थिए । लैनचौर वार्तालाई गोप्य राख्ने प्रयास गरिए पनि सहभागी नेताबाटै त्यसबारे सूचना चुहिएको थियो । मधेसी मोर्चाले संविधान संशोधन हुनुपर्ने, सीमांकन हेरफेर हुनुपर्ने, मधेसमा स्थानीय तहको संख्या बढाइनुपर्ने, चुनाव चिन्ह पाउनुपर्नेलगायत माग राख्दै आएको छ ।

राजपाका शीर्ष नेताहरू सहभागी बैठकमा राजदूतसँग दूतावासमा एक घन्टाबढी छलफल भएको बताइएको छ । राजदूतसँगको छलफलसँगै अब चुनावमा जाने–नजानेबारे छिट्टै राजपाका नेताहरूले बैठकपछि निर्णय गर्ने भएको छ ।

प्रतिक्रिया