सेनाको सहयोगमा नमुना विद्यालय

120909-F-CP197-189रोल्पा १५ जेठ । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घट्दै गएको भनिए पनि रोल्पाको थवाङमा रहेको एक सामुदायिक विद्यालयमा भने स्थानीयवासीले गरेको विद्यालय सुधारका कारण अभिभावकको आकर्षण बढिरहेको छ । थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयलाई नमुना बनाउने भन्दै थालिएको अभियानले सार्थकता पाउन थालेसँगै अभिभावकमा आकर्षण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले बताए । ‘अहिले निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा आउनेको चाप बढ्दै गएका कारण भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा लागेका छौँ’ घर्तीले भने । भवन निर्माणका लागि विभिन्न संघसंस्थाले समेत सहयोग गरिरहेका छन् । सहयोगकै क्रममा नेपाली सेनाको खडक दल गणको एक सैनिक टोली थवाङमा रहेर निर्माण कार्यमा सहयोग गरिरहेको सैन्य स्रोतले बताएको छ ।

विद्यार्थीको चापसँगै भवन अपुग भएको भन्दै विद्यालयले नेपाली सेनालाई भवन निर्माणमा सहयोग गर्न अनुरोध गरेअनुसार हाल एक टोली थवाङमा पुगी विद्यालय भवन निर्माणमा सहयोग गरेको हो । विद्यालयको आन्तरिक र बाह्य परीक्षामा अधिकांश विद्यार्थी अंग्रेजी विषयमा असफल हुन थालेपछि विद्यालयप्रति अभिभावकको आकर्षण घट्न थालेकाले अंग्रेजी माध्यमबाट पठनपाठन थालनी गरिएको विद्यालयले बताएको छ । नर्सरीबाट सुरु गरिएको अंग्रेजी माध्यमको पढाइ कक्षा नौ सम्म पुगेको बताइएको छ । कक्षा १२ सम्म अंग्रेजी माध्यममा पढाइ गर्ने योजना रहेको विद्यालयले जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिले पछिल्लोपटक विद्यालयलाई नमुना बनाउने भन्दै थालेको अभियानस्वरूप शैक्षिक र भौतिक उपलब्धि देखिन थालेपछि अभिभावकसमेत सन्तुष्ट देखिन थालेको विद्यालयले बताएको छ । विद्यालयमा हाल सरकारी दरबन्दीका रूपमा कक्षा एक देखि १२ सम्म २१ जना शिक्षक र सात सय ५० बढी विद्यार्थी छन् ।

प्रतिक्रिया