किशोरी शिक्षाको प्रभावले बालिका विद्यालय भर्ना

balika schoolमहोत्तरी । वल्र्ड एजुकेसनको सहयोगमा सञ्चालित किशोरी शिक्षा कार्यक्रमको प्रभावको कारण महोत्तरीका सयंै बालिका विद्यालय जान तयार भएका छन् । गरिबीको कारण घरको काममा सीमित रहेका यस क्षेत्रका दलित तथा मुस्लिम समुदायका बालिकाहरू किशोरी शिक्षाको प्रभावले विद्यालय भर्ना हुने तरखरमा छन् । घरको कामसँगै विद्यालय भर्ना हुने अवसर जुट्ने भएकाले किशोरी शिक्षामा पढ्न सुरु गरेको रामगोपालपुर गाउँपालिका– ४ बसविट्टीकी शोभा कुमारी सदाले बताइन् । किशोरी शिक्षाको सम्बन्धमा आमा बुबालाई सम्झाएपछि आफू पढ्न पाएकी शोभाले बताइन् । उनीसँगै सो वडाका २३ बालिका कक्षामा समावेश भएका छन् ।
शिक्षाबाट टाढै राखिने मुस्लिम बालिकाहरू किशोरी शिक्षाका थप कक्षामा धक खोलेर पढ्दै छन् । प्रायः १४ वर्षमाथिका ती किशोरी केही उर्दू पढ्दापढ्दै छोडेका कोही सामुदायिक विद्यालयकै एक वा दुई कक्षासम्म पढेर छोडेको र अधिकांश विद्यालयको मुख नै नदेखेका समेत रहेकोमा हाल किशोरी शिक्षा कार्यक्रमले उनीहरूलाई विद्यालय भर्ना हुन मद्दत गरेको किशोरीहरूको भनाइ छ । समाज विकास केन्द्रको सहजीकरणमा सञ्चालित किशोरी शिक्षा कक्षामा अध्यनरत अधिकांश किशोरी आफूहरू अब विद्यालय भर्ना हुन तयार रहेको र भर्ना हुन परीक्षा नै लिए निर्धक्कसाथ परीक्षा दिनसक्ने बताउँछन् । किशोरी शिक्षा कक्षामा सरसफाइ, बालविवाहका साथै विभिन्न आधारभूत शिक्षाका साथै विद्यालयमा पढाइने ज्ञानसमेत दिइएको पर्सा देवाड की– १४ वर्षीय फरहिन खातनु बताउँछन् ।
त्यस्तै सम्सीकी– १२ वर्षीय जिकरा खातुनले आफूले सोही कक्षामा बालविवाह गर्न नहुने शिक्षा पाएकाले आफू बालविवाह नगर्ने प्रण गर्दै अरूलाई समेत बालविवाह नगर्न जनचेतना जगाउने बताइन् ।
किशोरी शिक्षाको माध्यमले विद्यालय भर्ना हुन पढ्दै गरेकी किशोरीहरूलाई आफ्नो पढाइलाई निरन्तरता दिन सम्बन्धित सरोकारवाला निकायसमक्ष जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक अरुण शङ्कर पाठकले आग्रह गरेका हुन् । उनले शिक्षा भए जीवन उज्यालो हुने बताउँदै कुनै पनि हालतमा पढाइ नछोड्न आग्रह गरे ।  त्यस्तै महिला तथा बालबालिका कार्यालयकी प्रतिनिधि खुश्वु जयसवालले किशोरी शिक्षामा अध्ययनरत किशोरीहरूको पढाइप्रतिको जाँगर देखेर आफू निक्कै प्रभावित भएको बताइन् । उनले किशोरीहरूले पढाइलाई निरन्तरता दिनसके उनीहरूले समाज र देशकै अनुहार फेर्नसक्ने बताइन् ।
समाज विकास केन्द्रले जिल्लाका विभिन्न स्थानमा सञ्चालित १६ वटा कक्षाको माध्यमले ५ सय २० किशोरीलाई विद्यालय भर्ना हुन सक्षम बनाउन कक्षा सञ्चालन गर्दैआएको छ भने किशोरी शिक्षामा अध्ययनरत किशोरीहरूका २ सय १५ आमालाई शिक्षाको साथै चित्रकलालगायत तालिम दिई आत्मनिर्भर बनाएको छ ।

प्रतिक्रिया