तेह्रथुम । सदरमुकाम म्याङलुङमा हेलिकोप्टर अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ । जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकोप्टर अवतरणका लागि उपयुक्त स्थान छैन । म्याङलुङमा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड सार्वजनिक रूपमै प्रयोग हुँदै आएको छ तर सेनाको हेलिप्याड प्रयोग गर्न प्रक्रिया झन्झटिलो हुने गर्छ । आन्तरिक प्रयोजनका लागि मात्रै निर्माण भएको हेलिप्याडमा निजी तथा व्यावसायिक हेलिकोप्टर अवतरण गर्न दिन नमिल्ने इन्द्र दल गुल्मका गुल्मपति महेश्वर कार्कीले बताए । ‘जो कोहीलाई हेलिप्याड प्रयोग गर्न दिन मिल्दैन’, उनले भने, ‘तर यहाँ अर्को हेलिप्याड नहुँदा सार्वजनिक प्रयोग गर्नैपर्ने बाध्यता छ, उचित ठाउँ खोजेर निर्माण गरे राम्रो हुने थियो ।’
उनले सार्वजनिक रूपमा प्रयोग गर्न सकिने गरी छुट्टै हेलिप्याड निर्माण गर्न म्याङलुङवासीलाई सुझाव दिएका छन् । जिल्लामा एउटा पनि विमानस्थल छैन । हेलिकोप्टरसमेत अवतरण गर्नसक्ने उचित स्थान नहुँदा यात्रु तथा पर्यटकले सास्ती बेहोर्नु परिरहेको छ । जिल्लामा विभिन्न समयमा जिल्लाबाहिरबाट हेलिकोप्टर नै चार्टर गरेर घुम्न आउने तथा बिरामी लिन तथा पु¥याउन र अन्य प्रयोजनका लागि मानिस आउने गर्छन् । त्यस्ता आगन्तुक मानिसलाई सेनाको ब्यारेकभित्रको हेलिप्याड प्रयोग गर्न समस्या हुन्छ । हेलिप्याड प्रयोगका लागि पहिल्यै अनुमति माग्नुपर्ने हुन्छ । निजी भ्रमणमा हेलिकोप्टर आउँदा पटक पटक गुल्मसँग अनुमति मागेर अवतरण गराइएको स्थानीय व्यापारी तारा श्रेष्ठले बताए । यसरी पटक पटक समस्या झेल्नुपर्दा सार्वजनिक रूपमा प्रयोग गर्न पाउने गरी हेलिप्याड निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
बजार विस्तार भएसँगै यहाँ अग्लाअग्ला भवन निर्माण हुनेक्रम बढ्दै जाँदा यसअघि प्रयोगमा रहेका खाली जग्गामा समेत अहिले हेलिकोप्टर अवतरण गर्न नसकिने भएको म्याङलुङ नगरपालिका–१ का टीका खुलालले बताए । यसअघि जिल्ला प्रहरी कार्यालयपरिसरमा रहेको छकलीटार, स्थानीय टँुडिखेल नजिकै रहेको कभर्ड हलपरिसरलगायत ठाउँमा समेत हेलिकोप्टर अवतरण गर्ने गरिएको थियो । अहिले जिल्ला प्रहरी कार्यालयपरिसरमा कार्यालय प्रयोजनका लागि भवन बनेपछि छकलीटारमा हेलिकोप्टर अवतरण गराउन नसकिने भएको छ । जिल्लाको अवश्यकतालाई ध्यानमा राख्दै सदरमुकामको बजार भएकाले बजार आसपासमै हेलिप्याड निर्माणको प्रयास भइरहेको स्थानीयवासी नैन पयाङ्गोले बताए ।
आवश्यक जग्गा व्यवस्थापन गर्न भने समस्या रहेको छ । जिल्ला सुरक्षा समिति र इन्द्र दल गुल्मको पहलमा बजार नजिकैको खुरखुट्टे ओडार आसपासमा हेलिप्याड निर्माणका लागि उपयुक्त हुने भन्दै छलफल सुरु गरिएको यसबारे मन्त्रालयमा जानकारीसमेत गराइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । तर सो जग्गा सार्वजनिक भए पनि यहाँका आदिवासी जनजातिले समाधिस्थलका रूपमा प्रयोग गर्दै आएका छन् । हेलिप्याड निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन भइसके पनि स्थानीयवासीको अवरोधले निर्माण गर्ने प्रक्रिया अघि बढ्न नसकेको इन्द्र दल गुल्मका गुल्मपति कार्कीले बताए । किराँत याक्थुङ चुम्लुङका सचिव तेजमान कन्दङ्वाले भने समाधिस्थलका रूपमा प्रयोग भइरहेको ठाउँ हेलिप्याडका लागि प्रयोग गर्न नदिइने बताए ।
प्रतिक्रिया